
गौरीगंज । गौरीगंज गाउँपालिकाको पन्ध्रौ गाउँसभा मार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरिएको भए पनि आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेट प्रस्तुत नै भएन ।
झापाका अरु सबै १४ पालिकाले वार्षिक अनुमानित बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् तर गौरीगञ्ज गाउँपालिकाले नीति तथा कार्यक्रममात्र प्रस्तुत गरी पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले पन्ध्रौ गाउँसभामार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आइतबार नै छलफल गरी पारित पनि गरिएको छ ।
गाउँपालिकाले ‘कृषिमा उन्नत प्रविधि, गौरीगंजवासीको समृद्वि’ भन्ने नारालाई मुख्य नारा मानी त्यसै अनुरुप नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कृषिमा यन्त्रीकरणको माध्यमबाट व्यवसायीकरणतर्फ उन्मुख गरिने कुरा समेटिएको छ ।
गाउँपालिका स्तरिय गौरवका योजनाहरुको माध्यमबाट सडक सञ्जाललगायत अन्य पूर्वाधारजन्य दीगो विकासमा जोड दिइएको छ । गाउँपालिकाबासीको सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्वि गरिने तथा गुणात्मक शिक्षाको सुनिश्चित गर्न शैक्षिक विकासमा जोड दिइने नीति लिइएको छ ।
पालिकाले वडास्तरीय योजनाहरु समयमै सम्पन्न गर्ने वडालाई पछिल्लो आर्थिक वर्षको बजेटमा तोकिए बमोजि थप बजेट उपलब्ध गराउने उल्लेख छ । नमूनाको रुपमा कुनै एक आधारभूत विद्यालयमा विद्यार्थीहरुको ई-हाजिरी लागुूगरिने, कृषि सिंचाईलाई थप विस्तार गरी कृषि विद्युतीकरण (विद्युत पोल र तार विस्तार) गरिने, ‘एक वडा एक बाली’ उत्पादनमा जोड दिइने, गाउँपालिकाले स्थानियस्तरमै फलफूल, तरकारीलगायतका विरुवा उत्पादन गर्न कृषि समूहलाई नर्सरी अनुदानको लागि व्यवस्था गर्ने नीति लिइएको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरी पारित भएका धेरैवटा नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । सामाुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षालाई निरन्तरता दिई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।
छोरीलाई आर्थिकरुपमा सक्षम बनाउन छोरी जन्मेपछि छोरीको नाममा बाल बचत कार्यक्रम, अस्पतालमा थप उपकरणसहित २४ घण्टे सेवा सञ्चालन, न्यायिक सेवालाई व्यवस्थित गरी क्षमता अभिवृद्व गर्ने, खानेपानी पाईप विस्तार, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नुपर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई गौरीगंज अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अस्पतालले रेफर गरेको दमकका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाउपलब्ध गराउने कार्यले निरन्तरता पाउने छ । दीर्घ रोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौंजस्ता कार्यक्रले निरन्तरता पाएका छन् ।