२०८१ माघ २४, बिहिवार , १२:३७:४४ बजे

Sajhamanch
'

हचुवाका भरमा राजदूत सिफारिस : प्याकुरेलद्वारा कोरियाको राजदूत बन्न अस्वीकार

आइतवार, असार ९, २०८१

काठमाडौं । सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको भन्दै सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गरेका छन ।

मन्त्रिपरिषद्को अस्ति शुक्रवारको बैठकले सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेको थियो । तर आज प्याकुरेलले विज्ञप्ति निकालेर राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित देशको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताए।

राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देखेको प्याकुरेलले बताए।

सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिन भन्दै आफूले प्रधानमन्त्रीलाई लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेको प्याकुरेलले जानकारी दिए। आफूलाई सरकारले राजदूतमा नियुक्त गरेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्याकुरेलले सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केतसमेत नदिइनु अचम्मको विषय भएको बताए।

प्याकुरेल विगत पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय रहेकोे छन । उनी राष्ट्रिय मानव अधिकार आयोगको संस्थापक सदस्य पनि हुन ।

मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो ।

 

सम्बन्धित खबर