मेचीनगर । घरैबाट हिंडेकी छोरी एक साता बित्दासमेत नफर्किँदा चिन्तित बनेको मेचीनगर–८ स्थित मेचे परिवारले छोरीको खोजी कार्यमा सहयोग गरिदिन अपील गरेको छ ।
उक्त वडाको वीरेन्द्र स्मृति टोलकी १७ वर्षीया खुस्बु मेचे गत सोमवार बिहान करिब ७ बजेतिर मोबाइल बनाउन पानीट्याङ्की (सीमावर्ती भारतीय बजार) जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
“मोबाइल बनाउनु छ भनि, मैले बिहानै पसल खुल्दैन भनेँ, भन्दाभन्दै हिंडि त हाली” आमा मञ्जु मेचेले भनिन्, “त्यसपछि अझै आइन, सकेसम्म सबैतिर खोजी सक्यौँ, बुझिसक्यौं, फेला पार्न सकेनौँ ।”
‘घर छोडेकै दिन दिउँसोसम्म कुर्यौं, नातिनी (छोरीकी छोरी) फर्किनन्।’, संविधानसभा सदस्यसमेत रहेका खुस्बुका मावली हजुरबुवा चन्द्रलाल मेचेले साझामञ्चसँग भने ।
त्यसपछि खोजी गर्न त्यसैदिन इलाका प्रहरी कार्यालय काँकरभिट्टा र माइती नेपाल काँकरभिट्टामा निवेदन दिइएको जानकारी दिँदै उनले घरै छोडेर हिंड्नुपर्ने कारण अझै बुझ्न नसकेको बताए ।
“कतै पत्तो लाग्यो कि भन्ने आशले निवेदन दिएको ठाउँ (प्रहरी र माइती नेपाल) मा बेला–बेला सोध्दै पनि छौं” बुवा विनम मेचेले भने, “खोजी हुँदैछ भन्ने जवाफ मात्रै आउँछ ।”
बेपत्ता भएकी मेचेले धुलाबारी माविबाट व्यवस्थापन संकायतर्फ कक्षा ११ को परीक्षा दिएकी थिइन् ।