मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीले आम नागरिकलाई स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने तयारी भइरहेको बताएका छन् ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हालै निर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवं सदस्यहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
“उपभोक्ताले संरक्षण गर्ने नीतिसहितको खानेपानी ऐन ल्याउन आवश्यक गृहकार्य शुरु भएको छ” कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले भने, “त्यसका लागि आर्थिक वर्ष २०८१/०८२ मा कार्ययोजना अघि सारेका छौं ।”
त्यसक्रममा निर्वाचन समिति संयोजक राजु कार्कीले संस्थाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै पद तथा गोपनियताको शपथ खुवाएका थिए ।
सो अवसरमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकी, अध्यक्ष पदका उम्मेद्वारहरु सन्तोष आचार्य, सुदर्शन खड्का, निवर्तमान अध्यक्ष राजकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचन समिति संयोजक राजु कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।