२०८२ असार २२, आइतवार , ०८:५२:५२ बजे

Sajhamanch
'

११ जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी, ५५ जिल्लामा चुनावमार्फत नेतृत्व

आइतवार, असार २, २०८१

काठमाडौं । नेकपा एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ११ जिल्लामा हुन बाँकी रहेको हो । एमाले निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सकिएको जानकारी दिए।

अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने उनले बताए। उनका अनुसार कोशी प्रदेशको इलाम, मोरङ र तेह्रथुम, मधेस प्रदेशको सिरहा, सप्तरी र धनुषा, गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको उनले बताए।

अहिलेसम्म अधिवेशन भएका ६६ मध्ये ५५ जिल्लामा प्रत्यक्ष निर्वाचन भएको हो भने ११ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । एमालेकाअनुसार अर्घाखाँची, रूपन्देही, दाङ, रामेछाप, रसुवा, झापा, रुकुम पूर्व, रुकुम पश्चिम, कञ्चनपुर, डडेलधुरा र मुगुमा सर्वसम्मत नेतृत्व चयन भएको हो । त्यस्तै मजदुर विशेष जिल्ला कमिटीमा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेले गएको फागुनदेखि जिल्ला अधिवेशन शुरु गरेको थियो ।

सम्बन्धित खबर