कमल । कमल गाउँपालिकाले शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितका अध्यक्षसहित तीन दर्जन बढीलाई सम्मान गरेको छ ।
वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष सम्मानित भएका हुन् ।
सो पालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेटमा शिक्षा, युवा तथा खेलकुद शाखाले कार्यसम्पादन मूल्यांकनको आधार तय गरेको थियो ।
२०८० को शैक्षिक सत्रभित्र अनिवार्य अवकाश, स्वेच्छिक राजीनामा तथा अन्य कारणले सरकारी शिक्षण पेशाबाट बिदा हुने शिक्षक सम्मान, विभिन्न समयमा सेवानिवृत्त हुने कर्मचारी र उक्त पालिकाले सेवा सुविधा उपलब्ध गराएका अवकाश प्राप्त कर्मचारीलाई दोसल्ला ओढाएर नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसक्रममा अनिवार्य अवकाश भएका शिक्षक तथा कर्मचारी, तहगत र विषयगत रुपमा उत्कृष्ट हुने ३६ जना शिक्षक तथा कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी), शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायतले सम्मान गरेका थिए ।
कमल–२ स्थित महेन्द्ररत्न माविको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी), वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समिति सदस्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, सो पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीको उपस्थिति थियो ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने र सञ्चालन उक्त शाखाका कर्मचारी रविन गौतमले गरेका थिए ।