काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक २०८१ माथिको छलफल चलिरहेको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।
बजेटमाथिको छलफल शुरु हुनुअघि सांसदहरूले शून्य र विशेष समयमा विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद रामकृष्ण यादवले तराई मधेशका विभिन्न जिल्लामा आगजनीका घटनाबाट ठूलो जनधनको क्षति भए पनि स्थानीयवासीले राहत नपाएकामा सरकारको ध्यानाकर्षण गराए।
यस्तै सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधनको क्षति भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले विपद्बाट जोगाउन पूर्वतयारीको कामलाई प्रभावकारी बनाउन, दक्ष जनशक्तिको व्यवस्था गर्न र बजेटको प्रबन्ध गर्न माग गरे।
सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि पूर्वतयारीविना राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा देशभरका ज्येष्ठ नागरिकले दुःख पाएकाले त्यसलाई सहजीकरण गर्न माग गरे । उनले पूर्वतयारी नगरिँदा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले दुःख पाएका उल्लेख गरे ।