२०८१ मंसिर १२, बुधवार , ०२:१८:१२ बजे

Sajhamanch
'

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार अधिकारी सम्मानित

शुक्रवार, जेठ ११, २०८१

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

चलचित्र पत्रकारिता दिवशको अवसरमा बिहीवार उनलाई एक समारोहकाबीच नगद राशीसहित सम्मान तथा पुरस्कृत गरिएको हो । पत्रकार अधिकारीलाई ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिएको छ ।

उक्त पुरस्कार चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुवाको स्मृतिमा स्थापना गरेका हुन् । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन् ।

गीतकारसमेत रहेकी उनको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहेकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत छिन् ।

सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरियो । उनी चलचित्र पत्रकार संघ मकवानपुर शाखाको संस्थापक सह–सचिवसमेत हुन् ।

यस्तै, संघले कलाकर्मी सम्मान–२०८१ बाट गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई सम्मान गरेको छ ।

मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रियस्तरको कलाक्षेत्रमा सक्रिय रहेकाहरूलाई सो विधामा सम्मान गर्दै आइएको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ, संघका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा, सम्मानितको तर्फबाट गीता अधिकारी, संघका उपाध्यक्ष श्रीराम अर्जुन लगायतले बोलेका थिए ।

संघका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता थियो ।

सम्बन्धित खबर