२०८१ मंसिर ८, शनिवार , ०२:५१:३५ बजे

Sajhamanch
'

दमकमा ‘एमाले हूँ’ भनेर छाती फुलाएर गर्वका साथ शिर ठाडो बनाएर हिँड्ने अवस्था बनाउन मेरो उम्मेद्वारी: युवराज घिमिरे

शुक्रवार, जेठ ११, २०८१

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सो पार्टीको दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

उक्त अधिवेशनमा करीब आधा दर्जन नेताले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् । दमक नगरका युवा व्यवसायी एवं एमालेका युवा नेता युवराज घिमिरेले पनि अध्यक्षमा उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

पार्टीभित्र आम कार्यकर्ताको निराशालाई आशामा बदल्न आफू अध्यक्ष पदकै उम्मेदवार बन्नुपरेको घिमिरेको प्रतिक्रिया छ ।

“पार्टी अध्यक्षकै गृह नगरमा पार्टीले नगरप्रमुख, उपप्रमुख मात्र नभई अधिकाँश सामाजिक संघ–संस्थामा समेत नेतृत्व गुमाउनुपरेको छ” अध्यक्षका आकांक्षी उनी भन्छन्, “यो गम्भीर विषय हो, यसलाई सामान्य रुपमा लिन सकिँदैन ।”

एमालेको पुरानो साखलाई फिर्ता गर्न, विगतमा हासिल गरेका उपलब्धि जोगाउन, दमकमा एमालेको वर्चश्व कायम गर्न र एमालेका कार्यकर्ताहरुले छाती ठोकेर म एमाले हुँ भन्ने स्थिति ब्यूँताउन उम्मेदवारी दिइएको घिमिरे बताउँछन् ।

पार्टी अध्यक्ष ओली स्वयंले भरसक सर्वसम्मत नेतृत्व चयन गर्न र त्यो सम्भावना टरेमा स्वस्थ प्रतिस्पर्धाबाट नेतृच्व छान्न गरेको अपील सम्झिँदै उनले थपे, ‘म उहाँको यो अपीलको पक्षमा सधैं छु र रहिरहनेछु, त्यसभन्दा बाहिर जाँदिन ।’

एमालेलाई दमकको सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा मात्र नभई सबैभन्दा भरोसा गर्न लायकको पार्टीको रुपमा स्थापित गराउने दाबीका साथ अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको युवा नेता घिमिरेले बताए ।

‘एमालेजनहरुले कतिपय परिस्थितिमा नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जना भएको छ, त्यसलाई चिर्दै एमाले हुँ भनेर शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाउनुछ, पार्टीको पुरानो विरासत फर्काउनुछ, मेरो उम्मेदवारी यसैका लागि हो ।’ उनले भने ।

आफू पार्टीको नियमित काममा लागिरहेको र कार्यकर्ताहरुको भावना बुझेको जनाउँदै सबैको साथ र समर्थन पाउने घिमिरेको विश्वास छ ।

पार्टीलाई यहाँसम्म ल्याउन योगदान गर्ने पुरानासहित नेतृत्व तहका नेताहरुको सल्लाह बमोजिम अघि बढ्ने र नयाँ पुस्ताको भावना अनुरुप पार्टीको नगर कमिटीलाई चलायमान बनाउने अठोट उनले लिएका छन् ।

सम्बन्धित खबर