
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको चौथो क्याम्पभन्दा माथि मौसम प्रतिकूल भएपछि दुई दिन आरोहण रोकिएको छ ।
पर्यटन विभागको फिल्ड कार्यालय, सगरमाथा बेसक्याम्पका अनुसार सगरमाथाको चौथो क्याम्पभन्दा माथिको मौसमी प्रतिकूलताका कारण मंगलबार कुनै पनि आरोहण दल शिखर पुग्न सकेनन् भने आज बुधबार पनि कुनै आरोहण हुने छैन ।
सगरमाथा आरोहण क्रममा हराइरहेका दुई जना मंगोलियन आरोहीको खोज तथा उद्धारका ‘८के एक्सपिडिसन्स प्रालि’ बाट मंगलबार दुई शेर्पा पठाइएकोमा मौसमी प्रतिकूलताका कारण चौथो क्याम्पमा नै रोकिएको र उद्धारका लागि थप दुई शेर्पा हाल तेस्रो क्याम्प नजिक पुगेको पर्यटन विभाग निर्देशक राकेश गुरुङले जानकारी दिए ।
यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर पुग्ने लक्ष्यसाथ हाल ४१ दलका ४१४ आरोहीले अनुमति लिएका छन् । तीमध्ये ७५ महिला छन् । यसपालि कुल ३० हिमालका लागि ११२ दलका ९७१ जनाले आरोहण अनुमति लिएका छन् ।