केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तु आक्रमण पीडितहरूका लागि क्षतिपूर्ति कार्यक्रम शुरु गर्नुभएको छ । हात्ती, गैँडा र जङ्गली भैँसी लगायतका प्रजातिहरूको बासस्थान रहेको उत्तरी केन्याली काउन्टीमा क्षतिपूर्ति कार्यक्रम शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ । ५ करोड ३८ लाख अमेरिकी डलर बराबरको कार्यक्रम विशेषगरी मृतकका परिवार, घाइतेको उपचार र क्षति भएको कृषि उपजको क्षतिपूर्तिमा केन्द्रित हुनेछ ।
निर्देशिकाअनुसार वन्यजन्तुको आक्रमणमा परेका नागरिकले २३ हजार पाँच सय ४३ डलरसम्म क्षतिपूर्ति पाउनेछन् । यस्तै सरकारले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न विद्युतीय तार, समुदायमा आधारित वकालत र आधुनिक निगरानी प्रविधिमा लगानी गर्ने राष्ट्रपति रुटोले बताउनुभएको छ । केन्या वन्यजन्तु र मानवबीच धेरै द्वन्द्व हुने देशहरूमध्ये पर्छ ।