२०८१ कार्तिक १०, शनिवार , ०२:४२:४७ बजे

Sajhamanch
'

‘नाँच्ने ठाउँ थिएन, सिक्न फिल्म हल जान्थें’–नृत्य प्रशिक्षक गेलाल

बुधवार, चैत २८, २०८०

मेचीनगर । सानो छँदै नाँच्न भनेपछि औधि रहर गर्ने बुद्धराज गेलाल (विक्रम) लाई त्यही रहरले नाँच्न जान्ने मात्र बनाएन, अरुलाई समेत सिकाउन सक्ने बनाएको छ ।

मेचीनगर–१०, धुलाबारीस्थित महानन्द टोलका ३१ वर्षे विक्रम नृत्यप्रतिको उ बेलाको रुचीकै कारण यो बेला नृत्य प्रशिक्षक बन्न पुगेका हुन् ।

“७ वर्षको हुँदै नाँच्ने रहर जाग्यो” विगत सम्झिँदै उनले भने, “तर त्यतिखेर छेउछाउमा न सिकाउने ठाउँ थियो, न त सिक्ने पारिवारिक वातावरण नै” उमेर बढिरहँदा नृत्यप्रति बुद्धराजकोे मोह पनि बढी नै रह्यो । तर, सिक्ने ठाउँ भने गेलालले कतै पनि पाएनन् । त्यसपछि बढ्दो त्यो चाहना पूरा गर्न उनी घर नजिकैको तृष्णा चलचित्र मन्दिर धाउन थाले ।

“स्कूल छुट्टि हुनेबित्तिकै फिल्म हलतिर कुदी हाल्थेँ, टिफिनमा पनि धाउँथे” विक्रम त्योक्षण स्मरण गर्दै भन्छन्, “फिल्म देखाउने पर्दाको छेउको ढोका खुल्लै हुन्थ्यो, मनपर्ने गीत बज्दा छिरेर नाँच्थेँ” पछि २०६३ सालमा घर नजिकै खुलेको मारुनी कला केन्द्रबाट नृत्य सम्बन्धी आधारभूत र एड्भान्स तहको सीप सिकेका उनी नृत्यमै रस भिजेकाले यसबाट उम्किन नसक्ने बताउँछन् ।

२०६४ सालमा धुलाबारी माविबाट एसएलसी उत्तीर्ण गरेका गेलालले धुलाबारी क्याम्पसमा व्यवस्थापन संकायतर्फ स्नातक तह तेस्रो वर्ष पढ्दा पढ्दै छोडे ।

उनले नृत्य प्रशिक्षक सागर राजवंशीसँग सहकार्य गरी ८ वर्षअघि धुलाबारी चोकमा ‘द डान्स टेम्पल’ नामक नृत्य प्रशिक्षण केन्द्र शुरु गरे ।

‘४ जना प्रशिक्षार्थीबाट शुरु गर्यौं, अहिले ३५ जना छन, अहिलेसम्म झण्डै ५०० जनाले नृत्य सिकिसकेका छन् ’, जिल्ला नृत्य कलाकार संघका सचिव तथा मेचीनगर समिति अध्यक्षसमेत भइसकेका उनले भने ।

त्यहाँ प्रशिक्षण लिएकाहरु मध्ये कतिपयले आफ्नै प्रशिक्षण केन्द्र खोलेका र केही विभिन्न विद्यालय र संस्थामा नृत्य प्रशिक्षक रहेका विक्रम बताउँछन् ।

गेलाल नेपाली मौलिक संस्कार र संस्कृति झल्काउने लोक नृत्य, क्लासिकल नृत्य, आधुनिकतर्फ हिपहप डान्स, शारीरिक व्यायामका लागि जुम्बा डान्स, फिटनेशका लागि एरोबिक र कार्डियो डान्स सिकाउँछन् ।

विभिन्न विद्यालय र संस्थाको नृत्य प्रशिक्षक रहेका उनी नृत्य सिकाउने सिलसिलामा १ महिनामा मेचीनगर र बिर्तामोडका गरी झण्डै १० हजार विद्यार्थी माझ पुग्छन् ।

आफूले अँगालेको क्षेत्रबाट आर्थिकरुपमा ठूलो उपलब्धी हासिल नभए पनि सानैमा साँचेको सपना साकार भएकोमा सन्तुष्ट छन् विक्रम ।

नृत्यलाई आफ्नो नशासँगै सेवामूलक क्षेत्रका रुपमा लिएका उनले सिक्दै र सिकाउँदै यही क्षेत्रबाट अघि बढिरहने अठोट गरेका छन् ।

सम्बन्धित खबर