चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्लो वर्ष सन् २०२३ मा चीनको चिकित्सा उपकरणको बजार कुल एक दशमलव २७ ट्रिलियन यूआन अर्थात् १७९ बिलियन अमेरिकी डलर रहेको सार्वजनिक तथ्याङ्कले देखाएको हो ।चीनको दक्षिणपश्चिम चोङकिङ सहरमा हिजोदेखि शुरु भएको चाइना मेडिकल इक्विपमेन्ट सम्मेलनमा चिकित्सा उपकरणको संस्था चाइना एसोसिएसनले पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको हो । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १० दशमलव ४ प्रतिशतले धेरै रहेको सङ्घले जनाएको छ ।
चीन चिकित्सा उपकरणको लागि विश्वको दोस्रो ठूलो एकल बजार बनेको छ । चीनमा मध्यदेखि उच्चसम्मको चिकित्सा उपकरणको उत्पादनमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएका र यसमा नवीन चिकित्सा उपकरणहरू तीव्र गतिमा विकास भएको पाइएको सङ्घ अध्यक्ष होउ यानलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।सन् २०२३ मा, चीनमा एक लाख ३८ हजार चिकित्सा उपकरण पेटेन्ट आवेदनहरू थिए । जुन विश्वका सबै पेटेन्ट आवेदनहरूको ६७ प्रतिशत प्रतिनिधित्व हुन्छ । पेटेन्टको अर्थ कुनै वस्तु आविष्कारक वा उत्पादकलाई सरकारले निश्चित अवधिसम्म त्यो वस्तु उत्पादन, प्रयोग र बिक्रीका लागि दिने अधिकार हो । एजेन्सी