
झापा । कङ्गोमा फैलिएको इबोला भाइरस सङ्क्रमण ‘निकै चिन्ताजनक’ रहेको चिकित्सासम्बन्धी परोपकारी संस्था मेड्शा स फ्रन्टिअर्स (एमएसएफ) ले चेतावनी दिएको छ । एमएसएफका उपनिर्देशक डा. एलन गोन्सालेसले यसअघि यति छिटो ‘यति धेरै सङ्क्रमण’ नफैलिएको बताउनुभएको बीबीसीले जनाएको छ ।
प्रकोप घोषणा भएको दुई हप्तापछि एमएसएफका उपर्निदेशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सिर्जना गरेको बताएको हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का प्रमुख डा. टेड्रोस एड्हानम गेयब्रेयसस भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कङ्गोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला परोपकारी संस्थाले यो चेतावनी दिएको हो ।
कङ्गोमा १ हजार जनाभन्दा धेरैमा इबोलाका शङ्कास्पद सङ्क्रमण देखिएको र कम्तीमा २४६ जनाको ज्यान गएको खबरमा उल्लेख छ । यस्तै छिमेकी देश युगान्डामा ९ जनामा सङ्क्रमण देखिएको र १ जनाको ज्यान गएको छ ।
यसैबीच डब्ल्यूएचओले कङ्गोमा चलिरहेको द्वन्द्वले पनि इबोला प्रकोपको प्रतिकार्यमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ । अहिलेको प्रकोप बुन्डीबुग्यो नाम इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ जसको कुनै प्रमाणित खोप छैन । यसबाट सङ्क्रमित हुनेमध्ये झन्डै एकतिहाइको ज्यान जाने गर्छ ।
इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का अनुसार यसको प्रारम्भिक लक्षणमा एक्कासी ज्वरो आउने, एकदमै कमजोर अनुभव हुने, मांशपेशी दुख्ने र घाटी खराब हुने हुन्छ । त्यसपछि वान्ता हुने, झाडा पखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रूपमा रगत बग्ने पनि हुन्छ ।
यो रोग सङ्क्रमण भएका चिम्पान्जी, चमेरो र जङ्गली मृगजस्ता जनावरहरूसँगको निकट सम्पर्कबाट मानिसमा सर्ने गर्छ । मानिसबाट मानिसमा चाहिँ सङ्क्रमित रगत, जीउबाट निस्कने अन्य तरल पदार्थ, सङ्क्रमित अङ्गबाट प्रत्यक्ष रूपमा र सङ्क्रमित वातावरणमा लामो समय बिताउँदा अप्रत्यक्ष रूपले सर्ने गर्छ ।
इबोलाबाट ज्यान गुमाएका मानिसहरूको शवसँग प्रत्यक्ष सम्पर्क हुने अन्य मानिसलाई पनि यो रोग सर्न सक्छ ।


