काठमाडौँ । टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ। लोकेश बमको शतकका बाबजुद पनि नेपालले यो खेल आफ्नो पक्षमा पार्न सकेन।
नेपालले १९.३ ओभरको समाप्तिमा सबै विकेट गुमाएर २०१ रन मात्र बनायो। आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको थियो। टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको थियो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको थियो।
दोस्रो इनिङमा नेपालका लोकेश बमले सर्वाधिक ५६ बलमा १०६ रन बनाएका थिए। यसैगरी आरिफ शेखले २६ बलमा ४९ रन बनाएका थिए। विनोद भण्डारीले १४ बलमा १६ रन बनाएका थिए।
आएरल्यान्डका बलर ह्यान्ड र म्याथ्यू जेम्स हम्फ्रेसले तीनरतीन विकेट लिए। फोस्टरले २ विकेट लिए भने थोमस मेयस र गेभिन होईले एकरएक विकेट लिए।
पहिलो इनिङमा आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए। ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए।
चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए। त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।
केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए। स्टेफन डोहेनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए।
निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए। गेभिन होइले ६ बलमा २ छक्कासहित १८ रन जोडे।
नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १/१ विकेट लिए।
यसअघि बिहीवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएको थियो। आजको खेल पनि वर्षाका कारण स्थगित हुन सक्ने सम्भावना रहेको छ।