२०८२ जेठ ८, बुधवार , ०३:४१:५६ बजे

Sajhamanch
'

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशनको तयारी पूरा, दुई दर्जन व्यक्ति–व्यक्तित्व सम्मानित हुँदै

बुधवार, चैत १४, २०८०

झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बिहीबारदेखि हुने ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ।

बिर्तामोडस्थित अग्रसेन भवनमा भोलि चैत १५ गते दिउँसो ११ बजे पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पार्टी अध्यक्ष ओली आजै झापा आइसकेका छन् ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि अग्रसन भवनमा हलको सजावटसहित व्यवस्थापनको काम सम्पन्न भइसकेको छ भने निर्वाचन समितिसहितको सचिवालय स्थापना गरिसकिएको छ।

अधिवेशनका लागि १५ वटै पालिकाका १३१ वटा वडासहित विभिन्न जनसंगठनहरूबाट प्रतिनिधिहरू चयन भइसकेका छन् ।

प्रतिनिधि व्यवस्थापन उपसमितिका अनुसार गाउँ नगरको भूगोलबाट ४५८ जना प्रतिनिधि छानिएका छन् भने विभिन्न जनसंगठनहरूबाट ८९ जना, मजदुर क्लस्टरबाट ३० जना, झापा–काठमाडौँ सम्पर्क मञ्चबाट ५ जना प्रतिनिधि रहेका छन् । यस्तै अधिवेशन आयोजक जिल्ला कमिटीका पदाधिकारी सदस्यहरू १६७ जना, लेखा परीक्षण कमिटीका ७ जना र जिल्ला सल्लाहकार परिषद्का २५ जना गरी ७८१ जनाको प्रतिनिधित्व सुनिश्चित भइसकेको छ । अहिले साँझ माथि उल्लेखित अंकको करिब ५ प्रतिशत प्रतिनिधिहरूको मनोनित गर्ने तयारी छ ।

पार्टीका जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले दिएको जानकारी अनुसार जिल्ला अधिवेशनको अवसरमा दुई दर्जन व्यक्ति–व्यक्तित्वहरूलाई सम्मानित गरिनेछ । उनका अनुसार नेकपा एमाले झापालाई आजको अवस्थासम्म ल्याउन योगदान गर्ने पार्टीका पूर्व जिल्ला प्रमुखहरू डिल्लीराम मैनाली (विनोद) काठमाडौँ, कालिदास श्रेष्ठ (चिन्तन) गौरादह ५, अमृतकुमार बोहरा काठमाडौँ ३, मनकुमार गौतम बिर्तामोड १, नरेश खरेल बिर्तामोड ५ र देवीप्रसाद ओझा काठमाडौँलाई कदरपत्र प्रदान गरिनेछ ।

यसैगरी झापाको महिला आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँ ३, अनेम सङ्घ झापाको संस्थापक जिल्ला अध्यक्ष शोभा कुँवर काठमाडौं, पृथ्वी शोभा मैनाली काठमाडौँलाई सम्मान गरिनेछ।

यसैगरी पार्टी जीवनमा लामो समय व्यतित गरेका र हाल पनि सक्रिय रहेको ७० वर्षभन्दा माथि उमेरका अग्रजहरु सुमित्रा प्रसाई दमक १, सावित्रा खड्का, मेचीनगर ६ र जेष्ठ कम्युनिस्ट एवं ट्रेड युनियन कर्मी अन्तलाल धिमाल दमकलाई पनि कदर पत्र प्रदान गरी सम्मान गरिनेछ।

यस्तै, जिल्लाका स्थानीय कमिटीहरुमध्ये महिलाले नेतृत्व गरेको खुदनाबारी गाउँ कमिटीको तत्कालीन सचिव जानुका सिटौला शिवाकोटी काठमाडौँलाई सम्मान गरिने तय भएको छ ।

नेकपा एमाले झापाले एघारौँ जिल्ला अधिवेशनको अवसरमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको हातबाट झापाका दुईवटा उत्कृष्ट संस्थाहरू झापा इनर्जी लिमिटेड र तारा नमस्ते बालग्रामलाई प्रशंसापत्र प्रदान गर्नेछ ।

यसैगरी लाहा उत्पादक किसान गौरादह २ हाँसखोरका डम्बरबहादुर विश्वकर्मा, दुग्ध उत्पादक किसान दमकका सुदिव गौतम, विभिन्न मेसिनरी सामान जोडेर जहाजको डेमो बनाई उडाउने उत्कृष्ट प्रतिभा बुद्धशान्तिका सविन बास्कोटा र गीत संगीतको क्षेत्रमा अब्बल प्रतिभा गायिका मेनुका पौडेललाई सम्मानित गरिने भएको छ ।

यसैगरी नेकपा एमाले झापाको कार्यालय भवन रहेको जग्गामध्ये १ कठ्ठा दान गर्नुहुने पुराना कम्युनिस्ट नेता नन्दकुमार प्रसाई र अब बनाइने नयाँ भवनको लागि ५–५ कठ्ठा गरी १० कठ्ठा दान गर्ने डिल्लीराम सिटौला र उनकी छोरी बिनादेवी सिटौला डंगाललाई कदरपत्र प्रदान गरिने भएको छ ।

अधिवेशनको कार्यतालिका अनुसार चैत १५ गते उद्घाटन समारोह, १६ गते बिहान बन्दसत्र सुरु गरी प्रतिवेदन पास गरेपछि साँझसम्ममा नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन, १७ गते सर्वसम्मतिको प्रयास र १८ गते चुनाव गर्ने तयारी रहेको जनाइएको छ ।

सम्बन्धित खबर