
कमल । झापाको कमल गाउँपालिका ३ नम्बर वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र आजदेखि आफ्नै भवनबाट सञ्चालनमा ल्याइएको छ । वडा नम्बर ३ को नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रको आज बिहान एक कार्यक्रमका बीच झापा क्षेत्र नम्बर ५ (क) सांसद हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन् ।
नवनिर्मित वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन पछि मन्तव्यका क्रममा सांसद कार्कीले अबका दिनमा स्थानीय तहले आफैं आर्थिक उपार्जन गर्नेतर्फ लाग्नु पर्ने आवश्यकता आंल्याएका थिए ।
स्थानीय तह आधारभूत सरकार भएकोले अबका दिनमा आफ्ना नियमित काम बाहेक आर्थिक उपार्जन गर्नेतर्फ लाग्नुपर्ने बेला भएको उनको भनाई छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एमाले नेता कार्कीले स्थानीय तह, प्रदेश सरकार वा संघीय सरकार कसैले पनि यसतर्फ ध्यान नदिएको चर्चा गर्दै आगामी दिनमा जनतालाई मार नपारी करको दायरा फराकिलो बनाउनसमेत सुझाव दिए ।
कुनैपनि सार्वजनिक सम्पतिको संरक्षण स्थानीयबासी आफैंले गर्नुपर्छ । आफ्नो वडाभित्र रहेका हरेक सरकारी सम्पतीको संरक्षण गर्नु नागरिक स्वयम्को जिम्मेवारी हो भन्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आफ्नो पैतृक सम्पत्ति संरक्षण गर्ने तर सार्वजनिक सम्पती संरक्षण नगर्ने प्रचलन बढेको जिकिर गरे ।
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष मेनुका काफ्ले, कमल गाउँपलिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा जग्गा दाताका साथै वडाभित्र सञ्चालनमा रहेका विभिन्न फर्म, उद्योग, संघ–संस्था, व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो ।
कमल गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालाले कार्यक्रममा उपस्थित अतिथि लगायत सहभागीलाई धन्यवाद दिएका थिए ।