२०८२ भदौ ८, आइतवार , ०५:४१:४७ बजे

Sajhamanch
'

महिला, बालबालिका मन्त्री चौधरी स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक रहेको भनाई

शनिवार, चैत १०, २०८०

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छन् ।

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा मन्त्रीस्तरीय प्रतिनिधि मण्डलले सहभागिता जनाएको हो । महिलाका सामाजिक, आर्थिक, न्यायिक समानता लगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मन्त्री चौधरीलाई मन्त्रालयका सचिव सुमनराज अर्याल, सहसचिव रामकृष्ण लामिछाने, उपसचिव विनोदकुमार दाहाल, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट लगायतले स्वागत गरेका थिए । स्वागत पछि पत्रकारहरुमाझ बोल्दै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताइन् ।

सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जानकारी दिइन् । ‘भ्रमण फलदायी भएको उनको भनाई छ ।

‘लैङिगक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरु, वर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरु बारे विश्वमाझ जानकारी दिन सकेँ’ मन्त्री चौधरीले भनिन्, ‘सम्मेलनमा तीन वर्षदेखि मन्त्री स्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन । समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धीमुलक भएको छ ।’

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताएकी छिन् ।

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको, लघु, साना र मझौला उद्यममा महिलाहरुको सहभागिता बढिरहेको विश्वलाई जानकारी गराउनु भएको जानकारी दिइन् । नेपालमा हाल करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन् । सहकारीमा ५६ प्रतिशत महिला छन् । यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको विषयमा मन्त्री चौधरीले विश्व समुदायलाई सुनाएकी थिइन् ।