काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतमलाई लिएर निर्देशक समुन्द्र भट्टले नयाँ फिल्म बनाउने भएकी छन् । शनिबार घोषणा गरिएको यो अनटाइटल फिल्मको शीर्ष भूमिकामा एलिजा र निश्चल खड्का हुने जनाइएको छ ।
द स्काइ इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको यो फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ । लभस्टोरी–क्राइम–थ्रीलर जनराको यो फिल्मको कथा भट्टले नै लेखेकी हुन् ।‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी एलिजाले त्यसयता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । सक्रिय राजनीति थाल्ने भन्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनले असार २१ गते फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी थिइन् ।
एलिजालाई लिएर यसअघि ‘घुइँचो’ फिल्म पनि घोषणा भएको थियो, जुन बन्न सकेन । राजनीति छाडेकी एलिजाले अब फिल्म अभिनय करिअरलाई अघि बढाउने समेत बताएकी छन् ।निश्चलले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टले निर्देशन गरेको ‘गुन्यो चोलो’ प्रदर्शनको पर्खाइमा छ । यो उनको तेस्रो निर्देशकीय फिचर हुनेछ ।