कमल । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार कमजोर भएका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उक्सिन नसकेको बताएका छन् ।
झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव तथा अभिभावकमा प्रमुख अतिथि रहेका कार्कीले आफ्नो मन्तव्यमा यस्तो धारण राखेका हुन् ।
‘अहिलेसम्म धेरैवटा सामुदायिक विद्यालयको भौतिक अवस्था अत्यन्तै कमजोर छ । त्यसको निर्माणका लागि आफू मन्त्री र मुख्यमन्त्री भएको समयमा विभिन्न प्रयास र पहलहरु भएका छन् । अब त्यसको नतिजा प्राप्त हुन लागेकोले नतिजा प्राप्त भएपछि सार्वजनिक गर्ने’ पूर्व मुख्यमन्त्री कार्कीले बताए ।
सामुदायिक विद्यालय भनेका जनताका छोराछोरी पढ्ने विद्यालय भएकोले निजी विद्यालयहरु जस्तै भौतिक पूर्वाधारमा साथै प्रयोगशाला र आइसिटी ल्याबसमेत गुणस्तरीय हुनुपर्ने झापा क्षेत्र नं ५ (क)का प्रदेश सभा सदस्य कार्कीले बताए ।
कार्यक्रमका अर्का वक्ता कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विद्यालयले किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाइन् । शहीद धर्मभक्त माविले यसका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेर विद्यार्थी भित्र रहेको आन्तरिक क्षमतालाई प्रस्फुटन गराएकोमा खुसी पनि ब्यक्त गरिन् ।
बालमैत्री वातावरणमा पठनपाठन गराउनका लागि शिक्षक र कर्मचारीले जति धेरै प्रयास गर्नुहुन्छ उत्ति नै अभिभावकले पनि सहयोग गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष न्यौपानेको भनाई थियो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले विद्यालयको संक्षिप्त गतिविधि प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै क्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा राखेका थिए ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका सचिव त्रिलोचन गौतम, लक्ष्मीनारायाण मावि धरमपुरका शिक्षक कुमार खतिवडा, साहित्यकार बलिभद्र कोइराला, पूर्व प्रधानाध्यपक नारायणप्रसाद गौतम लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयले आफ्नो ५६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ । त्यसैगरी विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्मानित तथा पुरस्कृत हुने शिक्षकहरुमा सीताराम भट्टराई, भिमचन्द्र न्यौपाने, दिपेन्द्र पौडेल, विजय सापकोटा, अन्जु गुरुङ्ग र भविता अधिकारी छन् ।
विद्यालयमा स्थापित स्वर्गीय रूपनारायण–होमनाथ गुरागाई स्मृति अक्षय कोषबाट एक हजार ५०० रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्ने विद्यार्थीहरुमा नवीन भुजेल कक्षा १, करिश्मा थापा मगर कक्षा ४, सम्पन्न पोख्रेल कक्षा ६, सोनाम थापा कक्षा ८, आस्था नेम्वाङ कक्षा १० र निरज न्यौपाने कक्षा १२ रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाको अध्यक्षता सम्पन्न कार्यक्रम शिक्षक भिमचन्द्र न्यौपाने र भवानी रेग्मीले सञ्चालन गरेका थिए भने शिक्षक सीताराम भट्टराईले शाब्दिक स्वागत गरेका थिए ।