२०८१ मंसिर १०, सोमवार , ०३:२१:३३ बजे

Sajhamanch
'

१८ महिनापछि फेरि भाजपा फर्किए नीतिश कुमार, नवौँपटक बिहारको मुख्यमन्त्री

सोमवार, माघ १५, २०८०

काठमाडौं । जनता दल (युनाइटेड)का अध्यक्ष नीतिश कुमारले आइतबार नवौँपटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिए ।

नीतिशले भारतीय जनता पार्टी (भाजपा)सहितको नेसनल डेमोक्रेटिक अलायन्स ९एनडीए०सँग गठबन्धन गरी सरकार गठन गरेका हुन् ।

करिब १८ महिनाअघि उनले एनडीएसँगको गठबन्धन तोडेर राष्ट्रिय जनता दलसँग गठबन्धन गरेका थिए । अहिले पुनः राष्ट्रिय जनता दललाई छोडेर एनडीएमै फर्किएका हुन् ।

उनीसँगै भाजपाका ६ मन्त्री र दुई उपमुख्यमन्त्रीले शपथ लिएका छन् ।

सन् २०१५ यता नीतिश कुमारले सत्तामै रहन पाँचौँ पटक यस्तै राजनीतिक चाल चालेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीतिश कुमारलाई बधाई दिँदै विहारमा बनेको एनडीए सरकारले विकास र जनताको आकांक्षा पूरा गर्न कुनै कसर बाँकी नराख्ने भनेर सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उपमुख्यमन्त्री बनेका भाजपा बिहारका अध्यक्ष सम्राट चौधरी र भाजपाकै अर्का नेता विजयकुमार सिन्हालाई पनि मोदीले बधाई दिएका छन् ।

शपथ लिएपछि मुख्यमन्त्री कुमारले पत्रकारहरूसँग बोल्दै बिहारको हितका लागि पछिल्लो कदम चालेको टिप्पणी गरेका छन् ।

कुमारले गठबन्धन तोडेको राष्ट्रिय जनता दलका नेता एवं पूर्वउपमुख्यमन्त्री तेजस्वी यादवले ‘खेल समाप्त नभएको र भर्खरै सुरु भएको’ टिप्पणी गरेका छन् ।

उनले मुख्यमन्त्री कुमारको पार्टी जनता दल (युनाइटेड) सन् २०२४ मा समाप्त हुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित खबर