
मेचीनगर । मेचीनगर– ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारिता पुरस्कार मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई प्रदान गरेको छ । सहकारीको आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगदसहित सम्मान गरिएको हो ।
२०५९ सालदेखि विवेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव मेचीनगरका अध्यक्षसमेत हुन् । उनले यसअघि जनसंसद दैनिकमा सह सम्पादक र लोकतन्त्र पोष्टमा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेका थिए ।
सो साधारण सभामा संस्थाले आफ्ना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीहरुलाई समेत सम्मान गरेका थियो । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता कमलाकुमारी राजवंशी र उत्कृष्ट ऋणीतर्फ गीता राजवंशी रहेका छन् ।
सहकारी संस्थाका अध्यक्ष गीता राजबंशीको सभापतित्व तथा मेचीनगर– ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले सहकारी र सदस्यको दीगो विकासको लागि एक सहकारी एक सदस्य अभियानलाई प्राथमिकता दिएर कार्यान्यन गर्नू पर्ने बताए ।
सहकारीलाई समृद्ध र सुशासनयुक्त बनाउन सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ, अध्यक्ष ओलीले भने, ‘तपाईँहरु एउटै सहकारीमा बचत तथा ऋणको कारोबार गर्नुहोस, जस्को कारण सहकारीको शेयर बृद्धि र कारोबार बृहत हुन्छ अनि सहकारी आर्थिक रुपमा मजबुत बन्छ ।’
उनले सहकारीमा आवद्ध सदस्यहरुको जीवनमा समृद्धि ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न सञ्चालक समितिलाई आग्रह समेत गरे ।
कार्यक्रममा ज्येष्ठ नागरिक समिति मेचीनगर –७ का अध्यक्ष पीताम्बर शर्मा, सम्मानित व्यक्तित्व प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन सहकारी संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए ।
सहकारी संस्थाले बिभिन्न समयमा सदस्य लक्षित कार्यक्रम गर्दै आएको छ । यस अघि सहकारीले निःशुल्क आँखा परीक्षण शिविर, स्वास्थ्य शिविर लगायत सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको सहकारी संस्थाका व्यवस्थापक दुलव मेचेले जानकारी दिए ।
सहकारी संस्थाका सचिव कमल ढुंगेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।