
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन्।
बिहीबार तेह्रथुममा महाकाली–मेची अभियान अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी समेत गरे।
खर्बौँको कारोबार हुने र खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको शङ्कास्पद रहेको उनको टिप्पणी थियो। अध्यक्ष ओलीले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको उल्लेख गरे।
‘चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको छ’ उनले भने।
उनले नागरिकहरुले सरकारको संलग्नता छ भने पनि सरकार बोल्न नसकेको जिकिर गरे।
‘हामीले चुनावमा भोट दिएर जिताइ पठाएका शासकहरू के गरिरहेका छन् अहिले। क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ। कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ। कति किलो दिनैपिच्छे सुनका सुन देशमा तस्करी भइरहन्छ। यस्तो कति हो कति तस्करी भइरहन्छ। सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ। यसमा सरकारको संलग्नता नहुने कुरै भएन। खर्बौँको कारोबार, खर्बौँको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदै छ। सयौँ गुणा फरक छ यसमा। यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमिसनतन्त्रको जालोबाट देशलाई लुट तन्त्रमा लगेको छ । यो कुरा बाहिर आइरहेको छ। सरकार बोल्न सकिरहेको छैन। अवस्था यस्तो छ।’
अध्यक्ष ओलीले सरकार कति बेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे। उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए।