२०८१ पौष २८, आइतवार , ०७:४०:५८ बजे

Sajhamanch
'

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसँगै विरामीको आकर्षण बढ्दै

शुक्रवार, मंसिर २२, २०८०

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ ।

औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो ।

ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडिसहितका केही सेवाहरुलाई सुरु गरेर आएका विरामीहरुलाई सेवा प्रदान गरिँदै आएको छ । सकेसम्म निःशुल्क रुपमा औषधिसमेत उपलब्ध गराइँदै आएको छ ।

५० शैया क्षमताको प्रोदेशिक आर्युवेद अस्पतालमा करारसहित १९ जनामात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । कम्तिमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सी लगायतका सेवा सञ्चालन गर्न सकिने डा. ठाकुरको भनाई छ ।

एकैचोटी सेवा विस्तार गर्नेभन्दा पनि दिइरहेका सेवालाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफूहरुको योजना रहेको डा. ठाकुरले बताए ।

सो आयुर्वेद अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने योजनामा रहेका छौं, उनले भनेका छन् ।

जनशक्ति, बजेट र औषधि अभाव भए पनि सेवालाई प्रभावकारी र विस्तारित रुप दिन लागिपरेको उनले जनाए । थोरै जनशक्ति भए पनि पञ्चकर्म, भिडियो एक्स रे, ल्याव लगायतको सेवा शुरु गरिएको उनले जनाएका छन् । इमरजेन्सी सेवा विस्तारको लागि पनि आवश्यक काम गरिरहेको उनको भनाई छ ।

दैनिक ५० जनासम्म विरामी आउन थालेको र सेवा विस्तार भएपछि विरामीको संख्या बढ्ने अपेक्षा रहेको बताउँदै डा. ठाकुरले आयुर्वेद उपचार पद्धतीमा जनविश्वास बढ्दै गए पनि त्यस अनुसारको सेवा दिन भने चुनौती रहेको बताएका छन् ।

यसैबीच शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरेर पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्धारमा हुने रोगको उपचार शुरु गरिने जनाएको छ ।

अहिले यसको उपचार गर्ने भन्दै भारतीय चिकित्सक भन्नेहरुले ठगी रहेकाले यसको उपचार सहज रुपमा यहाँ गरिने बताइएको हो ।

सेवा शुरुवातको अवसरमा आँउदो मङ्सिर २५ र २६ गते पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्धारमा हुने रोगको उपचारका लागि अस्पताल परिसरमा नै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

शिविरमा आउने विरामीहरुको जाँच उपचार पूर्णरुपमा निःशुल्क हुने डा. ठाकुरले बताएका छन् । ल्यावदेखि औषधिसम्म कुनै पनि खर्च लाग्दैन, उनले भनेका छन् ।

सम्बन्धित खबर