२०८१ असोज ३, बिहिवार , ०९:३८:५१ बजे

Sajhamanch
'

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली विदेशमन्त्रीसँग कुराकानी

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् ।

मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा इजरायली विदेशमन्त्री काहेनले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएका छन् ।

‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाई गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौं’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भने ।

परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औं फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

यसअघि ८ मंसिरमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा पनि रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।