
काठमाडौं । साविक विजेता अर्जेन्टिना आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका–२०२४ को समूह ‘ए’ मा परेको छ ।
प्रतियोगिताका लागि शुक्रबार बिहान भएको समूह विभाजनअनुसार अर्जेन्टिना समूह ‘ए’ मा परेको हो । यो समूहमा साविक विजेतासँगै पेरु, चिली र उत्तर अमेरिकी छनोटको प्लेअफबाट आउने पाँचौँ टिम छन् ।
साविक विजेता अर्जेन्टिनाले आगामी जुन २० मा प्लेअफ विजेता (क्यानडा र ट्रिनिडाड एन्ड टोबागो) विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै, १५ पटकको विजेता उरुग्वे समूह ‘सी’ मा र १० पटकको विजेता ब्राजिल समूह ‘डी’ मा परेका छन् । प्रतियोगितामा आगामी वर्षमा कुल १६ टिमले सहभागिता जनाउनेछन् । अमेरिकाका विभिन्न सहरमा आयोजना हुने प्रतियोगिता जुन २० देखि जुलाई १४ सम्म सञ्चालन हुनेछ ।
यसअघि ब्राजिलमा सम्पन्न प्रतियोगिताको गत संस्करणको उपाधि अर्जेन्टिनाले जितेको थियो ।