उर्लाबारी । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत आज उर्लाबारीमा इकाइगत सभा सम्पन्न गरिएको छ ।
कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको संस्थाका ४१ वटा सेवा केन्द्रहरु मध्ये मोरङ जिल्लाका ७ वटा सेवा केन्द्रको इकाईगत सभा भएको हो ।
साधारणसभा प्रयोजनका लागि संस्थाले निर्धारण गरेको इकाइ नं. ६ अन्तरगतका सेवा केन्द्रहरु उर्लाबारी, सोमाबारे, दाम्राभिट्टा, मधुमल्ला, मंगलबारे, पथरी र बेलबारी सेवा केन्द्रका सदस्यहरुको सहभागितामा उक्त सभा गरिएको थियो ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा उनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष श्रेष्ठले संस्थाको ऐतिहासिक पृष्ठभूमिका बारेमा सभामा जानकारी गराउँदै आजभन्दा २३ वर्षअघि २०५७ को पौष ४ गते ५३ हजार ७०० रुपैयाँ चुक्ता शेयर पूँजीबाट संस्था दर्ता गरी कारोबार सुरु गरेको कर्णाली साकोसमा हाल ४८ करोड ८० लाख २१ हजार ७०० रुपैयाँ शेयर रहेको जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष ५ करोड ६ लाख १७ हजार ६०० रुपैयाँ शेयर पूँजी बृद्धि गर्न संस्था सफल भएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले संस्थाको जगेडा कोषमा पनि १३ करोड ३८ लाख एक हजार ६७१ रुपैयाँ रहेको बताए ।
आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको जम्मा वासलात ४ अर्ब ३६ करोड २१ लाख ७ हजार २०४ भएको पनि सभालाई जानकारी दिएका थिए ।
कोशी प्रदेश सभामा मोरङ क्षेत्र नं. १ (क)का सदस्य उमकान्त गौतमको प्रमुख आतिथ्य एवम् उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उर्मिला थापाको विशेष आतिथ्यमा सो इकाइगत सभा सञ्चालन भएको थियो ।
संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेको सो इकाइगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिका सदस्य मनकुमार वेघाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन वाचन गरेका थिए ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो इकाइगत सभाबाट माइन्युट प्रमाणित सभाका लागि ६ जना प्रतिनिधि छानिएको जनाइएको छ । सो इकाइगत सभामा बेलबारी सेवा केन्द्रबाट एक जना उत्कृष्ट बचत कारोबार गर्ने सदस्य र एकजना असल ऋणी गरी दुईजनालाई प्रशंसापत्र प्रदान गरी सम्मान पनि गरिएको थियो ।