२०८१ माघ २४, बिहिवार , ०६:१३:०५ बजे

Sajhamanch
'

प्रचण्ड र माधव कम्युनिस्टको बर्को ओढेर लुरुलुरु कांग्रेसको पछि हिँडेका छन् : ओली

शुक्रवार, असोज १२, २०८०

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् ।

एमालेको कोसी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले एमालेभित्रका बिकाउ मालुहरू र कम्युनिस्टको खोल ओढेर बसेकाहरूले कम्युनिस्ट पार्टी फुटाएको आरोप लगाए ।

“बर्कोभित्र छुरा लुकाएकाहरू बसेकाहरू एमालेलाई आपत् परेको बेला मैदानमा उत्रिए र प्रहार गर्न थाले । प्रचण्ड र माधवले गरेको त्यही हो । एमालेले राम्रो काम गरेकोले नीति र नेतृत्वसँग आतंकित भएपछि अनि षड्यन्त्र सुरु भयो । कम्युनिस्ट बनेर कम्युनिस्ट सक्ने काम गरे । हामीले पार्टी जोगाउने प्रयास गर्‍यौँ,” ओलीले भने, “उनीहरूले हदैसम्म कम्युनिस्ट पार्टी फुटाउने र सरकार ढाल्नेसम्मको काम गरे । दक्षिणपन्थी सरकार बनाएर पाऊँ भनेर अदालतसमक्ष निवेदन हाले र नेकपा (एमाले) सरकारबाट हट्न बाध्य भयो । दुईदुईपटक पार्टी फुट्यो । मूलरूपमा अदालतले होइन प्रचण्ड र माधवहरूले फुटाएको हो । अहिले उनीहरू कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लुरुलुरु लागेका छन् ।”

ओलीले कम्युनिस्ट आन्दोलन बिगार्ने नेपाल र प्रचण्डहरूले अहिले नेकपा ब्युँताउने भनेर हावादारी कुरा गरिरहेको बताए । ओलीले दुई तिहाइ पुगेको पार्टीलाई पटकपटक फुटाउनेहरू अहिले कार्यकर्ता अल्मल्याउने काममा सक्रिय भएको आरोप लगाए ।

“धेरै साथीहरू बुझेर फर्किरहनुभएको छ, फाटोवादी अर्थात् माओवादी पार्टी र पुँजीवादी पार्टी हो, त्यो समाजवादी अरे त्यहाँबाट साथीहरू आउनुहुन्छ,” उनले भने ।

ओलीले एमालेले राम्रो काम गरेकै कारण विरोधीहरू आत्तिएको र सरकार कसरी ढल्यो भन्ने सबैलाई थाहा भएको सुनाए ।

सम्बन्धित खबर