काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ । “उहाँमा हिजो सामान्य ज्वरो आएको थियो,” स्रोतले भन्यो, “भाइरल हो कि भन्ने आशंका गरियो । राति एक्कासी हृदयघात भएको रहेछ ।”
पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान छ । बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो । “हामीले करिब १ बजेर ४० मिनेट जाँदा अस्पताल पुर्याइसकेका थियौँ,” स्रोतले भन्यो, “करिब एक घण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो ।”
राति बाथरुम जाने क्रममा ढलेको हुन सक्ने अनुमान गरिएको छ । नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।