दमक । झापाको दमक नगरपालिकामा पर्ने बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका दुईवटा भुटानी शरणार्थी शिविरमा ५ वर्षपछि नयाँ समिति निर्वाचित गरिएको छ ।
समितिले शिवीरको व्यवस्थापन तथा सरकारी र प्रशासनिक निकायसँग सरोकारका मुद्दामा समन्वयकारी भूमिकामा काम गर्ने गर्दछ ।
विगतमा कोभिड संक्रमण, नक्कली शरणार्थीको अन्वेषणसहितका कारण हरेक दुई वर्षमा हुनुपर्ने समिति निर्वाचन यसपटक ५ वर्षको अन्तरमा भएको हो।
निर्वाचनबाट बेल्डाँगी शरणार्थी बस्ती व्यवस्थापन समितिको सचिवमा सन्चहाङ सुब्बा र सहसचिवमा आशा राई चुनिएका छन् ।
यस्तै, पथरी–शनिश्चरेस्थित समितिमा कर्ण राई सचिव र सुनिता राई सहसचिव छानिएकी छिन् । यस पटकदेखि समितिको कार्यकाल ४ वर्षको बनाइएको छ ।
‘हाम्रो शिविर व्यवस्थापनका विभिन्न सरोकार र पछिल्लो जनसंख्या निर्धारणसहितका काम अघि बढाइनेछ’बेल्डाँगी सचिव सुब्बाले भने, ‘यूएनएचसीआरसहितका दातृ निकायले शिविरमा सहयोग र भरथेग गर्न छाडेपछिको स्थितिमा शरणार्थीको शिक्षा, स्वास्थ्यसहित जीविकोपार्जनका दर्जनौं समस्याबारेमा छलफल अघि बढाइनेछ । स्थानीय प्रशासन र नेपाल सरकारले तोकेको संयन्त्रमा साथै जोडिएर काम गर्नेछौं ।’
अहिले बेलडाँगी शरणार्थी शिविरमा करिब ५ हजार र पथरीमा १ हजारजति भुटानी शरणार्थीको बसोबास छ ।