२०८१ पौष ८, सोमवार , ०१:०६:४४ बजे

Sajhamanch
'

हङकङमा भेटियो सुन तस्करीको नयाँ तथ्य, अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

शुक्रवार, भदौ २२, २०८०

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

२ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ ।

सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । बिहीबारमात्रै बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका छन् । उनीमाथि तस्करीको सुन बिक्री वितरण गर्ने र भारतसमेत पठाउने गरेको खुलेको छ ।

यसअघि राजस्व अनुसन्धान विभागको टोलीले १८ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाएको थियो । सुन तस्करी प्रकरणमा हालसम्म तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ, याहो पेचिङसहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

६१ किलो सुनका मालिकमध्ये याहो पेचिङ प्रमुख रहेको अनुसन्धानबाट खुलेको छ । उनी ठूलो मात्रामा सुनसहित यसअघि भारतमा समेत पक्राउ परेको खुलेको छ । उनीहरूबाहेक एकजना तिब्बती मूलका भारतीय नागरिक र विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित २७ जना पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरण उच्चतहका कर्मचारी तथा राज्यका उपल्लो तहमा पुगेका मानिसको संलग्नताबिनै ठूलो मात्रामा सुन तस्करी भएको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

“यो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको देखिन्छ । अनुसन्धानमा भन्सार कार्यालयका तल्लो तहका कर्मचारीसँगको सेटिङमा सुन तस्करी भएको देखिन्छ । पक्राउ परेकाहरूको मोबाइलबाट यो सुन प्रकरणमा नेता र अन्य ठूला कर्मचारीको भूमिका देखिँदैन,” ती अधिकारीले भने ।

हाललाई सुन प्रकरणको पूरक अनुसन्धान गर्न मिल्ने गरेर अनुसन्धान प्रतिवेदन आगामी मंगलबारसम्म बुझाउने तयारी सीआईबीको छ । सुन तस्करीको अनुसन्धान सीआईबीले संगठित अपराध मुद्दा चलाएर गरेको थियो । संगठित अपराधको अनुसन्धान प्रहरीलाई ६० दिन थुनामा राखेर गर्न मिल्ने कानुनी व्यवस्था छ ।

मंगलबार तस्करी प्रकरणमा अनसन्धान सुरु भएको ५६ दिन पुग्छ ।

हङकङ पुगेका एसएसपी अझै फर्किएनन्

प्रहरी प्रधान कार्यालयले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो । १३ भदौमा हङकङ गएका आचार्य आज (शुक्रबार) मात्रै नेपाल फर्किने भएका छन् ।

हङकङबाहेक सीआईबीका डीएसपी धर्म भण्डारीलाई भारत पठाइएको थियो । उनी भने दुईदिन अघि फर्किसकेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

सुन तस्करीबारे हङकङबाट भने नयाँ तथ्य फेला परेको एआईजी बज्राचार्यको भनाइ छ । “हङकङमा केही नयाँ तथ्य फेला परेको छ । हामी त्यसलाई थप फेरिफाई गर्दैछौँ । अहिलेनै अनुसन्धानको क्रममै रहेकाले केही बोल्दिन,” एआईजी बज्राचार्यले भनिन् ।

सुन हङकङ हुँदै क्याथे प्यासिफिकको उडानबाट कार्गोमार्फत नेपाल भित्रिएको थियो । भारतबाट भने डीएसपी भण्डारीले दुईदिन अघि बुटवलका सुमन खरेललाई पक्राउ गरेर नेपाल ल्याएका थिए । खरेल चिनियाँ नागरिकबाट सुन लिएर भारतीय व्यापारीलाई बुझाउने काममा सक्रिय रहेको खुलेको छ ।

सम्बन्धित खबर