२०८१ माघ ११, शुक्रवार , ०५:३३:२२ बजे

Sajhamanch
'

सहकारी अभियान बचाउन झापामा ‘कोअपरेटिभ एलायन्स’को निर्माण

सोमवार, वैशाख १८, २०८०

झापा । ‘एउटा बिराउने शाखा पिराउने’ उक्ति जस्तै एउटा कुनै प्रारम्भिक सहकारी संस्थाबाट भएको गल्ती कमजोरीले सिङ्गो सहकारी अभियानलाई नै बदनाम गराउन हुँदैन भन्ने ‘थीम’मा केन्द्रित हुँदै तोकिएका सूचाङ्कहरु ठिक भएका झापाका सहकारी संस्थाहरु एकतृत हुन थालेका छन् ।

सहकारी विरुद्धको षड्यन्त्र र खेलबाडलाई निस्तेज पार्दै समग्र सहकारी अभियानलाई बचाउन यहाँका प्रारम्भिक सहकारी संस्थाहरु एकत्रित भएका हुन् । यसको पहिलो फड्कोस्वरुप आइतबार पत्रकार सम्मेलनमार्फत् अवधारणा तथा प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

सहकारीहरु अप्ठ्यारो परिस्थितिमा रहेका बेला एकअर्काबीच सहयोग र सहकार्य गर्दै समग्र सहकारी अभियानलाई बचाउन सहकारी संस्थाहरु एकत्रित हुन आवश्यक ठानिएको जनाइएको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रारम्भिक चरणमा डेढ दर्जनको हाराहारीमा सहकारी संस्थाहरु एकत्रित भएर ‘कोअपरेटिभ एलायन्स अफ झापा’ निर्माण गरिएको जानकारी दिइएको छ ।

“अहिले समग्र सहकारी अभियान अप्ठ्यारो अवस्थामा छ” सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले पत्रकार सम्मेलनमा भने, “विभिन्न तवरबाट सहकारी बचाउन अभियान चलाइँदै आएको छ, सहकारी बचाउने अभियानमा थप सहयोग गर्ने उद्देश्यले एउटा एलायन्स बनाएका हौं ।” सात सदस्यीय कोअपरेटिभ एलायन्स अफ झापाको बोर्डमा रामचन्द्र उप्रेती, टसबहादुर प्रधान, मोहन शिवाकोटी, रुद्रमणि श्रेष्ठ, दुर्गा भुर्तेल खतिवडा, महेन्द्रकुमार गिरी र खोमप्रसाद बगाले रहेका छन् । एलायन्सको बैठकको अध्यक्षता चक्रीय प्रणालीमा गरिने भएको छ ।

सहकारी संस्थाहरु स्वनियममा चल्नुपर्ने भएकाले एलायन्सले निर्धारण गरेको १४ वटा सूचांक पूरा गरेका सहकारीहरु कोअपरेटिभ एलायन्सको सदस्य बन्न पाउने जनाइएको छ । सहकारीको मापदण्ड सूचांक पूरा गरे/नगरेको सम्बन्धित संस्थाले प्रस्तुत गर्ने विवरणबाट हेरिने पनि जनाइएको छ ।

वित्तीय सन्तुलन मिलाउन नसक्दा धेरै सहकारी संस्थाहरु समस्यामा परेको अर्का अभियन्ता खोमप्रसाद बगालेले बताए । “ऋण लिएर तिर्नुपर्दै भनेर भ्रम फैलाउने, कर्मचारीलाई धम्क्याउने–दुव्र्यवहार गर्ने काम भइरहेको छ” उनले भने, “सहकारी क्षेत्रमा समेत केही विकृति भएकाले सुदृढीकरण गर्न जरुरी ठानेर एलायन्सको आवश्यकता महसुस गरिएको हो ।”

एकाध सहकारीमा समस्या आयो भन्दैमा देशैभरका सबै सहकारीलाई एउटै ढोकोमा हाल्ने काम भइरहेकोले सहकारी अभियान नै समस्यामा पर्दै गएको अभियन्ता टसबहादुर श्रेष्ठले प्रष्ट पारे । “सुशासनमा चलेका संस्थालाई बचाउनुपर्छ” उनले भने, “सहकारी सदस्यको संस्था हो, सहकारीलाई बचाउन सदस्यहरु नै जागरुक हुनपर्छ ।”

गलत गर्ने सहकारीलाई सजाय दिनुपर्ने अर्का अभियन्ता हिमालयप्रकाश कन्दङवाको भनाई छ । “सहकारी स्वनियमा चल्नुपर्ने संस्था हो” कन्दङवाले थपे, “सहकारीले सहकारीको नीति, नियम र मापदण्ड विपरीत व्यवहार गर्दा समस्या देखिएको छ, गलत गर्नेलाई कारबाही हुनपर्छ । अनिमात्र अभियान सङ्लो हुन्छ ।”

देशका विभिन्न भागमा केही प्रारम्भिक सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा सिंगो सहकारी अभियान समस्या ग्रस्त भएको हो कि भन्ने कतिपय सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शंका उत्पन्न भएकाले र सोही समयमा केही व्यक्ति र समूहले कर्जा तिर्नुपर्दैन भनेर भ्रम छरेकाले झापामा पनि सोको असर परेको सहारा नेपाल साकोसका सञ्चालक सदस्य भोलाप्रसाद धितालले बताए । “अबको प्रयास सहकारी अभियानलाई जोगाउने र झापामा सहकारी अभियान सशक्त बनाउने हो, यसका लागि एलायन्सले कठोर कदम पनि चाल्न सक्छ” उनको भनाई थियो ।

झापामा सहकारीको माध्यमबाट बचत तथा ऋणको मात्र कारोबार नभई सदस्यको आवश्यकता पूरा गर्नेगरी डेरी उद्योग, चिया उद्योग, मह उद्योग, सहकारी पसल, बिऊ बिजन उत्पादन, चक्लाबन्दी खेती, कृषि उपज खरीद बिक्री, विद्यालय तथा अस्पताल सञ्चालन, सहकारी आवास लगायतका काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एलायन्सको गठन सहकारी संघहरुको समानान्तर बनाउन खोजिएको हो भन्ने एक प्रश्नमा अभियन्ताहरुले एकैस्वरमा भने, ‘होइन, संघले आफ्नो काम गर्छ, गरिरहेको छ । हामी आफ्नो काम गर्छौं, विषय वा सन्दर्भहरुमा हातेमालो हुन्छ । आशा छ, संघ–एलायन्स एकापसको परिपुरक हुनुपर्छ ।’

एलायन्स लुज फोरम रहने र वर्तमान संकटहरु एकजुट भएर परास्त गरे पछि यसको औचित्य पनि सकिने भएकाले कोही कसैले तर्सनु नपर्ने अभियन्ताहरुले प्रष्ट पारेका छन् । ‘जो जसले जुन संघ/संस्थाको जिम्मेवारी लिएको हो, त्यसले सोही अनुसार जिम्मेवारपूर्वक कार्यान्वयन गरेमा आज देखापरेका संकटहरु हटेर जानेछन्, र यस्तो फोरमहरुको आवश्यकता पर्नेछैन, स्वतः विगठन पनि हुनसक्छन्’ एलायन्सका निर्माणकर्ताहरुको भनाई छ ।

वित्तीय कारोबार अनि सदस्य संख्याका आधारमा देशकै केही ठूला सहकारी संस्थाहरु रहेको झापामा एक दर्जन हाराहारी सहकारी संस्थाको कारोबार एक अर्बभन्दा माथिको छ । यस्तो सम्वेदनशील क्षेत्रमा कुनै एक ‘अमुक’ संस्थामा देखिएको समस्याले सिङ्गो सहकारी अभियानलाई तहसनहस हुनबाट बचाउन अगुवा सहकारीकर्मीहरुको भेलाले एलायन्सको परिकल्पना गरेको जनाइएको छ ।

आइतबारको बैठकमा उपस्थित एलायन्सका डेढ दर्जन सदस्य संस्थाका प्रतिनिधिहरुले अवधारणा पत्र एवम् प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । सो संख्या क्रमशः बढाउँदै लगिने एलायन्सका सदस्य मोहन सिवाकोटीले बताए ।

सम्बन्धित खबर