२०८१ पौष २५, बिहिवार , ११:३४:३६ बजे

Sajhamanch
'

सतासी सहकारीको २६औं स्थापना दिवसमा डिपार्टमेन्टल स्टोरको नयाँ आउटलेट सञ्चालनमा

सोमवार, फागुन २२, २०७९

झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ ।

बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर कोशी प्रदेशसभाका सदस्य एकराज कार्कीले आउटलेटको उद्घाटन गरेका हुन् । सहकारी अभियानका अगुवाहरु रामचन्द्र उप्रेती, महेन्द्रकुमार गिरीसहित ब्यवसायीहरुको बाक्लो उपस्थितिमा डिपार्टमेन्टल स्टोर शुभारम्भ गरिएको हो ।

तत्कालीन सरकारले २०६५/०६६ मा अघि सारेको सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न विउ पुँजी दिने र हरेक गाविसमा एउटा सहकारी पसल सञ्चालन गर्ने कार्यक्रमलाई आत्मसाथ गरेको सतासी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले पसल सञ्चालनमा उदाहरणीय कार्य गरिरहेको छ ।

हरेक सेवा केन्द्रमा एउटा सहकारी पसलको अवधारण अघि सारेको संस्थाले बिर्तामोडमा २०६६ साल असोजबाट पसल सुरु गरेको हो । सो पछि हल्दिबारी, सुरुङ्गा र गरामनीमा पसल सञ्चालन भइरहेको छ ।

बिर्तामोडको बुधबारे बजार कृषिथोक चोक नजिकै रहेको संस्थाको मुख्य कार्यालय भवनमा सञ्चालन भइरहेको पसलमा पार्किङको समस्या बढेर गएकाले भद्रपुररोडमा नवनिर्मित लक्ष्मण मार्केटमा फराकिलो क्षेत्रफलमा नयाँ पसल सुरु गरिएको सदस्य सचिव सन्तोषकुमार श्रेष्ठ बताउँछन् ।

झापा र इलामका विभिन्न स्थानमा १५ स्थानमा कोप सप सञ्चालन गरिरहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती सहकारी पसल सञ्चालनका लागि सतासी नै आफूहरुको गुरु भएको बताउँछन् । ‘पहिले सतासी सहकारीले सञ्चालन गरेको पसलमा नै हामी सिक्न गएका थियौं, आज पनि हामी सतासीबाट धेरै कुरा सिकिरहेका छौं’ एनएमसीका अध्यक्ष उप्रेती भन्छन्, ‘सतासी सहकारीले अभियानमा उदाहरणीय काम गरिरहेको छ ।’

उप्रेतीको भनाईमा बल पुग्ने गरी अध्यक्ष रुद्रमणि श्रेष्ठ हरेक वर्ष १५–२० वटा सहकारी संस्थाहरुबाट अवलोकन भ्रमण गर्न सतासी सहकारी पसल आउने गरेको बताउँछन् ।

पसल शुभारम्भका लागि फागुन २१ गते संस्थाको स्थापना दिवस नै रोजिएकाले अतिथिहरु माझ सामुहिक रुपमा केक काटेर वार्षिकोत्सव पनि मनाइएको छ । वार्षिकोत्सवका अवसरमा संस्थाले १७ जना उत्कृष्ट कारोबारी सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । यस्तै, अर्जुनधारा सेवा केन्द्रलाई वर्ष उत्कृष्ट शाखा घोषित गर्दै पुरस्कृत गरिएको छ ।

संस्थाले नगद ५ हजार रुपैयाँसहित मेची नेत्रालय काँकरभिट्टाका नेत्र चिकित्सक योगेन्द्र राउतलाई प्रशंसापत्र प्रदान गरेको छ । यस्तै डोनेशन बक्समा जम्मा भएको नगद ५ हजार ५९२ रुपैयाँमा संस्थाको तर्फबाट रकम थप गरी बिर्तामोडको तारा नमस्ते बालग्रामलाई १० हजार रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको छ ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित वार्षिकोत्सव तथा पसल समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले सहकारी संस्थाहरुकै कारण रोजगारीको अवसर सिर्जना भएको बताए । झापामा मात्र १०औं हजार नागरिकहरु सहकारी अभियानमा संलग्न भई रोजगारी प्राप्त गरेको बताउँदै सांसद कार्कीले उत्पादनको क्षेत्रमा प्रवेश गरेको एनएमसी लगायतको संस्थाको उदाहरण दिँदै सदस्यहरु लाभान्वित हुने काम गर्न सुझाए ।

आर्थिक मन्दीले तहसनहस भएको वर्तमान अर्थतन्त्रमा सहकारीले त्राण भरिरहेको बताउँदै सांसद कार्कीले सहकारीलाई परेको अप्ठ्यारो किनारा लगाउन सदनमा आफूले कुरा उठाउने प्रतिवद्धता पनि जनाए ।

सो कार्यक्रममा एनएमसीका अध्यक्ष उप्रेतीले सहकारीलाई स्वनियमनमा चलाउन सकियो भने अहिले चलिरहेका अफवाहबाट जोगाउन सकिने बताए । ‘अस्थायी प्रकृतिका उँचनिँचहरु हिजो पनि भए, आज पनि भइरहेका छन् । तर सदस्यहरुलाई आफ्नो वास्तविकता बताउन निरन्तर लाग्नुपर्छ, संस्था प्रति विश्वास जगाइरहनु नै सहकारी टिकाउने काइदा हो’ सहकारी अभियन्ता उप्रेतीको सुझाव छ ।

कार्यक्रमका अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले निजी क्षेत्रले नेपालमा सरकार भएको आभाष गर्न नसकेको टिप्पणी गरे । ‘निजी क्षेत्रले उठाएको आवाज सुनिँदैन, राष्ट्र बैंकले हाम्रा कुरा वास्ता गर्दैन । वर्षदिन भन्दा लामो अवधि तरलता संकुचन भइरहेको अवस्थामा यसलाई चलायमान बनाउन निजी क्षेत्रले गरेको प्रस्तावलाई बेवास्ता गर्नु सरकार नहुनु जस्तै हो’ केन्द्रीय सदस्य डालमियाको आक्रोस छ ।

संस्थाका सदस्य सचिव सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर