२०८१ पौष ७, आइतवार , ०१:११:४० बजे

Sajhamanch
'

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

शुक्रवार, पौष २९, २०७९

काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन, विगतको नेकपा एमाले, माओवादी, नेपाल कम्युनिस्ट पार्टी निर्माण र भंग भएको अवस्थाको चित्रण र एकीकृत समाजवादीको सकारात्मक विषयको चर्चा नेता भुसालले पत्रकार सम्मेलनको अन्तिमतिर उनले भने, ‘म अब एकीकृत समाजवादीको कार्यालयमा जान्छु र सदस्यता रिन्यु गर्छु ।’

शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन् । गत निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेर स्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए ।

यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए ।

यसअघि उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए । उनले भनेका थिए, ‘नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।’

भूसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहेका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउन आग्रह गरेका थिए । नेकपा एसमा प्रवेश गरेपछि उनलाई के जिम्मेवारी दिइनेछ भन्ने भने खुलाइएको छैन ।

सम्बन्धित खबर