काठमाडौँ । नेकपा एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनको बैठक संसद भवनमा जारी छ । केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको जनाइएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने भएकाले मन्त्रीको भागबण्डा सम्बन्धी बैठकमा सहभागी नभई निस्केको जनाएका छन् ।
राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने जनाइसकेका छन् । अब एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सरकारमा सहभागी हुनेछन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएसँगै दलहरुले मन्त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन् । सोमबार अपरान्ह ४ बजे दाहालसहित केही मन्त्रीहरूले राष्ट्रपति निवासमा शपथ लिने कार्यक्रम रहेको छ ।
गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी छन् । यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।