२०८१ मंसिर १५, शनिवार , ०१:४१:३५ बजे

Sajhamanch
'

उर्लाबारी हत्या घटनाको छानबिन काठमाडौंमा गरिँदै

आइतवार, माघ १६, २०७८

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ ।

यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो । दुवै शवको पहिचान भइसकेको छ । एक शव राजेन्द्रकुमार श्रेष्ठ र अर्को शव शम्भु चौधरीको रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार मृतक श्रेष्ठ र चौधरीबीच चिनजान रहेको देखिएको छ । चौधरी काठमाडौं र श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए ।

उनीहरू व्यावसायिक ‘पाटर्नर’ नदेखिए पनि फरक–फरक व्यवसायमा संलग्न रहेको देखिएको छ । चौधरी र श्रेष्ठ घरबाट गएको समय भने एकै देखिएको एसपी जिसीले बताए ।

चौधरी घरहरू बनाउने ठेकेदार रहेको खुलेको छ । श्रेष्ठले केही वर्षअघि धरानमा सुन व्यवसाय गरेका थिए । पछिल्लो समय उनी पनि घरजग्गा प्लटिङलगायत कारोबारमा रहेको खुलेको छ ।

प्रहरीका अनुसार श्रेष्ठ कारोबार मिलाउन धरान जान्छु भन्दै काठमाडौंबाट गएका थिए । एक महिनासम्म पनि सम्पर्कमा नआएका दुवैजनाको परिवारले प्रहरीको कुनै पनि निकायमा भने उजुरी दिएको थिएन ।

तर, उखु किसानले रगतजस्तो पदार्थ देखेपछि मोरङ प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फरक–फरक खाल्डो उत्खनन गरेर दुई शव निकालेको हो । शवलाई गहिरो खाल्डोमा गाडिएको थियो भने गलाउनका लागि नुनको प्रयोग गरिएको पाइएको छ ।

उनीहरूको हत्या शव भेटिएकै स्थानमा भएको हो वा अन्य स्थानमा भन्ने खुलेको छैन । हत्याको कारण खुलेको छैन । तर, लेनदेनलगायत कारणले हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ ।

बाह्रखरीबाट

सम्बन्धित खबर