|| Sunday 22nd July 2018

यसरी भयो कलाकारितामा झ्याइँकुटीकी ‘काँइली’ को इन्ट्री

4 weeks अगाडी

प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर ।

सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा बस्यालको परिचय बर्दी पहिरिएको प्रहरी होइन, खेलाडी र कलाकारको रुपमा स्थापित भयो । छोरीलाई खेलकुद र नृत्यलगायतका क्षेत्रमा प्रोत्साहन भन्दा त्यता नलाग्न दबाब दिइन्थ्यो र कलाकारितामा लाग्ने छोरीलाई समाजले राम्रो दृष्टिले पनि हेर्दैनथियो ।

तर, परिवारको चाहानाविपरित नन्दा खेलकुद र कला क्षेत्रमा लागिन् र स्थापित बनिन् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझै उनले खेल जीवनलाई अघि बढाइरहिन । समाजमा उनको कुरा काट्नेहरु हेरेको हेर्यौ भए । उनी सुर्खेतको पहिलो महिला खेलाडीको परिचय बनाउन सफल भइन् ।

आज उनकै पदचिन्ह पछ्याउँदै सुर्खेतमा धेरै महिला खेलाडीहरु जन्मिएका छन् । यसको श्रेय उनै नन्दालाई जान्छ । चार कक्षामा पढ्दा २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गरेकी उनले चार वर्षपछि ‘ब्ल्याक बेल्ट’ हात पारिन् ।

ब्ल्याक बेल्टपछि विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा विद्यालयको अनुमतिमा उनी आफ्नै साथीहरुकी ‘गुरु’ बनिन् । उनले साथीहरुलाई तेक्वान्दो खेलाउन थालिन् । त्यसवापत विद्यालयले उनलाई मासिक ३ हजार दिन्थ्यो । यसले नन्दाको व्यक्तिगत खर्च धानेको थियो । त्यसपछि उनलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आयो ।

वीरेन्द्रनगरको सामान्य परिवारमा जन्मिएकी नन्दा बस्यालको परिचय यतिमा मात्रै सीमित छैन । तेक्वान्दोकी ‘फाईभ डन’ हुन् । कलाकारितातिर उनको ख्याति अझ धेरै छ । गायिका, नायिक, नृत्य निर्देशक हुँदै निर्देशकसम्मको परिचय उनले बनाइसकेकी छन् । त्यतिमात्र होइन सामाजिक सेवामा पनि उनको उत्तिकै योगदान छ ।

वि.सं. २०५० सालदेखि तेक्वान्दो खेल्न शुरु गरेकी उनले विद्यालयमा हुने हरेकजसो कार्यक्रममा सहभागीता जनाउन थालिन् । ‘मैले भाग लिएका अधिकांश कार्यक्रममा प्रथम भएँ,’ उनी सम्झन्छिन्, ‘यसले खेलुकद र कलाकारितामा लाग्न थप प्रेरणा मिल्यो, प्रहरी बन्ने बालापनको सपना गराउँदै गयो ।’

३०–३५ वर्ष अगाडिको समाज अहिलेको जस्तो थिएन । छोरीलाई खेलकुद, नृत्यलगायतका क्षेत्रमा जानु हुँदैन भन्ने मान्यता थियो । ‘मेरा हरेक क्रियाकलापमा आमाको साथ र सहयोग रह्यो,’ उनले भनिन्, ‘आमाकै कारण अहिलेको स्थानसम्म आइपुगेकी हुँ ।’

उनी पढाईसँगै खेल खेल्थिन् । नृत्य गर्थिन् । गीत गाउँथिन् । यी कार्यमा परिवारका अरु सदस्यले विरोध गर्थे, आमाले सधैं सहयोग गरिन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुनका लागि समूह विभाजन गरिन्थ्यो । हरेक समूहले उनलाई नै नेतृका रुपमा लिन चाहन्थे ।

त्यसको कारण थियो, नन्दा जुन समुहमा हुन्थिन् त्यो समुह अतिरिक्त क्रियाकलापमा प्रथम हुन्थ्यो । एक पटक विद्यालयमा अतिरिक्त क्रियाकलापका सहभागी हुँदा हार्ने डरले उनलाई अर्को समूहका विद्यार्थीले शौचालयमा थुनिदिए । तर चुकुल फोडेर बाहिर आएर उनले सहभागिता जनाइन् ।

तेक्वान्दो खेल्दा सबैभन्दा धेरै अवरोध उनले सहनुपर्यो । तेक्वान्दो खेल थाह नपाएकाहरुले झट्ट हेर्दा लात्ताले हानेर अपमान गरेको जस्तो देखिन्थ्यो । त्यसैले पनि उनलाई शुरुमा घरबाट खेल्न अनुमति दिइएन । उनले आमालाई आफ्नो कुरामा राजी गराइन्, आमाले परिवारका अन्य सदस्यलाई ।

नन्दासँगै तेक्वोन्दो खेल्न सुरुमा केही अरु केटी साथीहरु थिए । सबैले बीचमै छोडे, नन्दा संघर्षका साथ लागिन् र अगाडि बढिन्, र सबैको उदाहरण बनिन् । तेक्वान्दो खेल्ने क्रममा नन्दाले नरमाईला घटना पनि देख्नु र भोग्नु परेको छ ।

एकपटक सुर्खेतमा क्षेत्रीय तेक्वान्दो प्रतियोगिता हुँदा प्रतिस्पर्धा गर्ने क्रममा तेक्वान्दो खेलाडी सञ्जय थापाको मृत्यु भयो । त्यो घटनापछि नन्दाले तेक्वान्दो खेल्न निकै संघर्ष गर्नुप¥यो । खेल्न जाने बेला उनलाई बाबा–आमाले कोठाभित्र थुन्न थाले । उनले भनिन्, ‘मनभित्रको इच्छा र चाहना भएकाले जसरी पनि मनाएरै छोडे ।’

तेक्वान्दोमा उनले क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय प्रतियोगिता खेलिन् । जसमध्ये अधिकांसमा सफलता हात लाग्यो । ‘मैले सहभागिता जनाएका प्रतियोगिताहरुमा कहिल्यै दोस्रो हुनु परेन्,’ उनले भनिन्, ‘मैले जुन बाटो रोजें त्यो मेरा लागि उत्कृष्ट थियो भन्ने प्रमाणित पनि गरेँ ।’

नन्दालाई अहिले धेरैले खेलाडी भन्दा कलाकारका रुपमा चिन्छन् । उनी अभिनय गर्छिन् । कुशल नृत्यकार हुन् । आफैं गीत गाउँछिन् । विभिन्न म्युजिक भिडियो निर्देशन गर्छिन् । नन्दाले नै सुर्खेतमा एकल नृत्यको प्रचलन ल्याइन् ।

‘सुर्खेतमा पहिले सिङ्गल डान्स गर्ने प्रचलनै थिएन’, उनले भनिन्, ‘मैले नै यसको सुरुवात गरेकी हुँ ।’ उनी कलाकारिताका सबै विधामा स्थापित छिन् । नन्दाले सुर्खेतमा नै निर्माण भएको ‘ढुंगा जस्तो माया’ फिल्ममा पहिलो पटक अभिनय गरेकी हुन् । रंगमञ्चहरुमा पहिले नै अभिनय गरिसकेकी उनका लागि पर्दामा त्यो नै पहिलो अनुभव थियो ।

नन्दा काठमाडौंमा खेल्न जाँदा भने सँधै पछि पर्नुपथ्र्यो । त्यसको कारण थियो, सहयोग नपाउनु । आफ्ना सपोर्टर नहुँदा खेलिएका हरेक खेलहरुमा निर्णायकले जानीजानी उनलाई हराइदिन्थे । निर्णायकहरुको त्यस्तो हेपाह प्रवृत्तिका कारण नन्दाले पनि आफू निर्णायक तहसम्म पुग्ने अठोट गरिन् र आँट पनि । पछि विस्तारै उनी निर्णायकको भूमिका निभाउन थालिन् ।

नन्दा खेलकुदसँग सम्बन्धित विभिन्न संगठनहरुमा पनि आबद्ध छिन् । उनी पहिले क्षेत्रीय खेलकुद विकास समितिमा बोर्ड सदस्य भइन् । त्यस क्रममा उनले क्षेत्रीय प्रतियोगिता पनि गराइन् । अहिले तेक्वान्दो संघको महिला विभाग प्रमुख छिन् ।

नन्दाले महिला विभागको प्रमुख हुँदा सबै खेलकुद क्षेत्रका महिला नेतृहरुबीच प्रतियोगिता गराइन् । जुन, एशियामै पहिलो हो । उनी तेक्वान्दो संघको केन्द्रीय सदस्य समेत हुन् ।

त्यतिमात्र होइन नन्दा अध्यक्ष रहेको ‘सिस्टर नेपाल’ नामको एक संस्था छ । सो संस्थाले महिलाहरुलाई सकारात्मक कार्यमा हौसला प्रदान गर्नेदेखि विभिन्न महिलासँग सम्बन्धित कार्यक्रमहरु गर्छ । हाल सुर्खेतमा प्रत्येक वर्ष तीजको अवसरमा महिला दिदीबहिनीहरुको जमघट हुने खालका कार्यक्रमहरु सोही संस्थामार्फत् सञ्चालन हुन्छन् । राम्रो काम गर्ने महिलाहरुलाई प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरेर सम्मान गरिन्छ । विपन्न वर्गका महिलाहरुलाई पनि कुनै कार्यक्रम ल्याएर सहयोग गर्ने प्रयास संस्थाले गरिरहेको छ ।

उनको भावी योजना सामाजिक कार्यलाई अझ विस्तार गर्ने छ । ‘महिलाहरु अहिले पनि दिनानुदिन हिंसाको शिकार हुनुपर्ने अवस्था छ’, उनले भनिन्, ‘त्यसको प्रतिकार गर्न सक्षम हुनका लागि खेलकुदमा सहमागी हुन जरुरी छ, त्यसले आफूलाई सुरक्षित राख्न मद्दत गर्छ ।’ सबै विद्यालयमा खेलकुद आवश्यक छ । विद्यालयमा यस्ता खेलकुद लैजान अभियान चलाउने उनको योजना छ ।

‘झ्याईकुटी’ मा काँईली

एकबेला चर्चित हाँस्यव्यङ्ग्य टेलिशृङ्खला ‘झ्याईकुटी झ्याई’ मा नन्दाको महत्वपूर्ण भूमिका रह्यो । उनी सो टेलिशृङ्खलामा ‘काँईली’ को भूमिकामा थिईन् । नन्दा ‘काँईली’ को नामले बढी परिचित भईन् । उनलाई कतिपय नयाँ ठाउँहरुमा खेल प्रतियोगितामा जाँदा पनि काँईली भनेरै चिन्ने गर्दथे ।

झ्याउरे नाँचमा पोख्त नन्दलार्ई भारतको एक कार्यक्रममा झ्याउरे नाँचेको देखेर झ्याँईकुटीको टिमले अभिनयमा आउन आग्रह गरेको थियो । हाँस्यव्यंग्य प्रस्तुति दिनसक्ने नन्दा काठमाडौंमा मनाईने गाईजात्राहरुमा समेत प्रस्तुत भैसकेकी छिन् ।

अहिले उनी जनता टेलिभिजनबाट प्रशारण हुने नाटक ‘मानव’ मा अभिनय गरिरहेकी छिन् । विशेषगरी मौलिकतामा जोड दिने नन्दाले आफ्नै सातवटा गीति एल्बम निकालेकी छन् भने ४० वटा गीतमा अभिनय गरेकी छन् । अविचलित रुपमा आफ्नो उद्देश्यमा दृढतापूर्वक अघि बढ्यो भने सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन्, ‘काँइली’ अर्थात नन्दा बस्याल ।

          June 24, 2018 9:37 am | अर्थ,कला/मनोरंजन,खेलकुद,टप,टिप्स/जानकारी,प्रदेश,प्रवास,फोटो,भिडियो,राजनीति,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,सहकारी,साहित्य,स्थ्यानिय तह,स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु: