
काठमाडौं । सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो । आवेदन दिने अन्तिम यही जेठ २२ गतेसम्म तोकिएको छ ।
राजदूतका लागि आवेदन दिन कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ । भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ ।
विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायताप्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन् ।
मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ । परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै डेढ दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै खुला आवेदन आह्वान गरेको हो ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि १७ वटा देशका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त छन् ।


