
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरूले समय माग गरेका छन् ।
आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन् । नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन् । बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियालाई परिपक्व, पारदर्शी र जबाफदेही बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियामा अत्यधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
तर सत्तारुढ रास्वपाका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन् । रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीसहित सांसदहरू डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ ।
बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ । न्यायालयमा देखिएको अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड छ ।
प्रधानन्यायाधीशमा सिफारिस डा. शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया आज बिहानदेखि शुरु भएको हो । उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्य योजना सदस्यहरूलाई वितरण गरिएको छ । शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् ।


