
काठमाडौं । एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ एक साथ प्रदर्शनमा आएका हुन् ।
‘लालीबजार’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । ‘मालतीको मंगले’मा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा छन् । ‘गुरुआमा’मा मिथिला शर्मा केन्द्रिय चरित्रमा छिन् ।
‘लालीबजार’ वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारी भए पनि अदालतमा रिट परेपछि यसको प्रदर्शन धकेलिएर आज आइपुगेको हो ।बादी समुदायको विषयमा बनेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंले लेखेका छन् । पटकथा भने यम र प्रदीप भट्टराईले तयार पारेका हुन् । प्रदीप यो चलचित्रको कार्यकारी निर्माता हुन् । रवीन्द्र सिंह बानिया र दिपेश खत्री यो चलचित्रको निर्माता हुन् ।
आजैबाट ‘मालतीको मंगले’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेय स्वयंले यो चलचित्रको कथा रहेको छ । पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् ।
चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय छ । निर्मातामा गायकसमेत रहेका रामकृष्ण ढकाल छन् ।
चलचित्र ‘गुरुआमा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई प्रेम सोनी सुनारले निर्देशन गरेका छन् ।मिथिला शर्मा र बुद्धि तामाङ यो सिनेमाको मुख्य भूमिकामा छन् ।देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा सबैभन्दा धेरै शो ‘लालीबजार’ले पाएको छ । दोस्रोमा ‘मालतीको मंगले’ छ । तेस्रोमा ‘गुरुआमा’ छ ।


