२०८३ वैशाख २३ बुधवार , ०३:०४:०३ बजे

Sajhamanch
'

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष बालेन शाहको निर्देशनअनुसार बिहीबारका लागि बैठकको मिति तय गरिएको हो ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो । दाहालले बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको जानकारी दिनुभयो ।

‘प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई छिटो र पारदर्शी ढंगले अघि बढाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएपछि परिषद्को सचिवालयले बैठकको तयारी पूरा गरेको छ,’ दाहालले भन्नुभयाृ ।

संवैधानिक परिषद्को सचिवालयले बुधबार नै पत्र जारी गर्दै बैठक भोलि बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय गरेको छ । बैठकमा प्रधानन्यायाधीश पदका लागि योग्य नामहरूमाथि छलफल हुने र उपयुक्त उम्मेदवारको सिफारिस गरिने बताइएको छ।

बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। जसमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम रहनेछन् ।

यस्तै, बैठकमा प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई पनि आमन्त्रण गरिएको छ। लामो समयदेखि प्रधानन्यायाधीशको स्थायी नियुक्ति नहुँदा न्याय सम्पादनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सरकारले यस प्रक्रियालाई तीव्रता दिएको बताइएको छ ।

सम्बन्धित खबर