
काठमाडौं । काठमाडौं उपत्यकाको हावा सबै समूहका मानिसको लागि अति अस्वस्थ अवस्थामा पुगेको छ ।
हिजो बिहान पनि अति अस्वस्थ अवस्थामा पुगेको हावा दिउँसोपछि केही सुधार भएको थियो । आज बिहान पुनः अति अस्वस्थ अवस्थामा पुगेको हो । बिहान १० बजे काठमाण्डौ उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्युआई २४७ सम्म पुगेको छ । एक्युआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।
काठमाडौं विश्वका ठूला शहरमध्ये वायु प्रदूषण उच्च रहेका सहरहरूको सूचीको पहिलो नम्बरमा पुगेको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा वायु प्रदूषण बढेको छ । वातावरण विभागले सञ्चालन गरेका सबै मापन केन्द्रहरूले रातो रङ्गको चेतावनी दिइरहेका छन् ।
एक्युआई १५० भन्दा माथि पुगेपछि मापन केन्द्रहरूले रातो सङ्केत गर्छन् । जसको अर्थ त्यो ठाउँको हावा सबैका लागि अस्वस्थ रहेको हुन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षाको अभाव, सुख्खायाम, कृषि अवशेष जलाउने प्रवृत्ति र वन डढेलोले प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।
वन तथा भूसंरक्षण विभागको विवरण अनुसार अहिले देशका ७८ भन्दा बढी ठाउँमा डढेलो लागिरहेको छ । डढेलो विशेष गरी पश्चिम तराईमा लागेको हो । वायु प्रदूषणले श्वासप्रश्वासजन्य रोगसँगै मुटु लगायतका जोखिम पनि बढाउँछ ।
प्रदूषण बढेका बेला अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन स्वास्थ्यकर्मीहरूको सुझाव छ ।



