२०८२ चैत २२ आइतवार , ०८:२३:५७ बजे

Sajhamanch
'

मन्त्रिपरिषद् बैठकका आजका निर्णयहरु यस्ता छन् (सूचीसहित)

आइतवार, चैत २२, २०८२

काठमाडौं । आज आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सरकारले सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठक केहीबेर अघि सकिएको हो ।

मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्नेदेखि आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको छ ।

त्यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

– डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशः एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

– दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

– नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

– राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

– पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

– शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

– डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

– आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।

सम्बन्धित खबर