२०८२ फागुन २५ सोमवार , १०:०२:५७ बजे

Sajhamanch
'

निर्वाचन सम्पन्न हुनु जनता र संविधानको जित : प्रधानमन्त्री कार्की

आइतवार, फागुन २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जितका रूपमा व्याख्या गर्नु भएको छ।

११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कठिन र विशेष परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन गराउन सक्नु मुलुकका लागि ठुलो उपलब्धि भएको बताउनु भएको हो।

निर्वाचनले देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उहाँले यस प्रक्रियामा सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गर्नु भएको हो।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा मात्र नभएर नागरिकको आत्मसम्मानको प्रतीक भएको उल्लेख गर्नुभयो। निर्वाचनबाट प्राप्त जनादेश सधैँका लागि स्थायी नहुने भएकाले नवनिर्वाचित जनप्रतिनिधिहरूले यसबारे सधैँ हेक्का राख्नुपर्ने उहाँको धारणा छ।

कानुनी रूपमा पाँच वर्षको अवधि भए पनि जनादेशको नैतिक वैधता प्रत्येक क्षण जनताको विश्वासबाट पुनः अनुमोदित हुँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो। जनताको विश्वास गुमाएको खण्डमा पदको कुनै अर्थ नरहने भन्दै उहाँले जनप्रतिनिधिहरूलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभयो।

महिला अधिकारका विषयमा बोल्दै प्रधानमन्त्रीले नेपालको संविधानले महिलाका हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गर्नुभयो। पछिल्ला दशकहरूमा राज्यका विभिन्न संरचनामा महिलाहरूको सहभागिता उल्लेखनीय रूपमा बढे पनि अझै पनि पूर्ण समानताको अवस्था नरहेको उहाँले बताउनु भयो।

महिलाहरू अझै पनि विभेद, असमान अवसर, लैङ्गिक हिंसा र पुरातन संस्कृतिजन्य असमानताबाट मुक्त हुन नसकेको भन्दै उहाँले आफ्ना अधिकारका लागि थप दृढताका साथ अघि बढ्न सबै महिलाहरूलाई आह्वान गर्नुभयो।

समाजमा महिलाले जबसम्म पूर्ण सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्दैनन्, तबसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने प्रधानमन्त्रीको निष्कर्ष छ। महिला दिवसका अवसरमा उहाँले राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण उपस्थितिले मात्रै वास्तविक सामाजिक रूपान्तरण सम्भव हुने बताउनु भएको छ।

निर्वाचनपछिको नयाँ राजनीतिक परिवेशमा महिलाका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउन उहाँले नवनिर्वाचित संसद् र सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।

सम्बन्धित खबर