
काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् ।
राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य ६ प्रकारका कागजातका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।
कतिपय ठाँउमा झुक्याएर वा अन्य उपायले अर्कैको नाममा मतदान गर्ने प्रवृति पनि हुन्छ ।
कुनै मतदाता मतदान केन्द्रमा गयो, तर ऊ जानुअघि नै अर्कैले उसको नाममा मतदान गरेको भए के हुन्छ होला ?
यो विषम परिस्थितिको अनुमान गरेर निर्वाचन आयोगले हरेक पटक निर्देशिका बनाउँदा वैकल्पिक व्यवस्था गरेको हुन्छ ।
सुरुमा फर्जी मतदाताले खसाल्ने मत मतपेटिका पुगिसक्ने तर उसले खसालेको मत कुन हो भनेर छुट्याउन सक्ने अवस्था हुँदैन । त्यसैले सुरुमा फर्जी मतदाताले खसालेको मत रद्द गर्न सम्भव हुँदैन र गरिँदैन पनि । तर पछि मतदान केन्द्रमा पुगेको वास्तविक मतदाताले मतदान गर्ने मौका पाउँछ ।
आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँछन् । तर उसले व्यक्त गरेको मतलाई ‘निविदा मतपत्र’ भनिन्छ र मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई निश्चित परिस्थितिमा मात्रै निविदा मतपत्र गणना हुने बताउछन् । उनका अनुसार, उम्मेदवारहरु बीच मत बराबर भएमा वा अन्य परिस्थितिमा अदालतको आदेशमा निविदा मतपत्र गणना गरिन्छ । अरु अवस्थामा त्यसको उपयोग हुँदैन ।
कुनै मतदाता मतदान केन्द्रमा जाँदा उसको नाममा अर्कैले मत खसालेको पुष्टि भएमा उसले मतदान अधिकृतलाई वास्तविक मतदाता आफू रहेको भनी दाबी गर्न पाउँछ ।
त्यसपछि मतदान अधिकृतले ऊ वास्तविक मतदाता हो होइन भन्ने यकिन गर्छ । र, वास्तविक मतदाता हो भन्नेमा मतदान अधिकृत विश्वस्त भएमा त्यो विवरण खुलाइ अभिलेख राखी निर्णय हुन्छ । अनि त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिएर मतदान गर्न पठाइन्छ ।
मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्छ ।


