२०८२ फागुन १ शुक्रवार , १२:२६:५५ बजे

Sajhamanch
'

बंगलादेशमा बीएनपीको बहुमत हासिल : ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउँदै

शुक्रवार, फागुन १, २०८२

बंगलादेश । बंगलादेशमा हिजो बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कूल ३०० सिटमध्ये २९९ सिटमा भएको मतदानमा बीएनपीले २०९ सिट जितेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको र बाँकी २९९ सिटका लागि मतदान गरिएको थियो।

१७ वर्ष लामो लन्डन निर्वासनपछि सक्रिय राजनीतिमा फर्किएका तारिक रहमानले यस निर्वाचनमा पार्टीको नेतृत्व गरेका थिए। उनी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। उनैलाई अब नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएको छ।

पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएसँगै झण्डै ३५ वर्षपछि बंगलादेशले पुरुष प्रधानमन्त्री पाउने भएको छ।

शेख हसिनाको पार्टी अवामी लिग निर्वाचनमा सहभागी नभएका कारण बीएनपीलाई यसको प्रत्यक्ष फाइदा पुगेको बताइएको छ।

सुरुमा बंगलादेशमा काजी जफर अहमद १९८८ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९९१ देखि २०२४ सम्म शेख हसिना र खालिदा जिया आलोपालो प्रधानमन्त्री भइरहेका थिए।

सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निर्वासन र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन गरिएको अन्तरिम सरकारले बिहीबार संसदीय चुनाव गराएको हो।

उक्त निर्वाचनमा विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी राष्ट्रिय नागरिक पार्टी (एनसिपी)ले ६ सिट मात्रै जित्नेको छ। एनसिपी नेता नाहिद इस्लामले मतदानअघि एनसिपीसहितको गठबन्धनले सरकार बनाउने दाबी गरेका थिए। तर परिणाम भने उनको पक्षमा नआउने देखिएको छ। बंगलादेशमा ३०० सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १५१ सिट आवश्यक रहन्छ।

सम्बन्धित खबर