२०८२ माघ १२ सोमवार , ०३:३८:१६ बजे

Sajhamanch
'

नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद विन सुलेमान अल–राजीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताले पारदर्शी भर्ना प्रक्रिया, तलब तथा सेवा सुविधा सुनिश्चितता, म्यानपावर ठगी नियन्त्रण र श्रमिकको न्यायमा पहुँच जस्ता विषय समेटेको छ । सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साउदीमा श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति लिएका थिए । नेपालले श्रम सम्झौता गरेका देशको संख्या १३ पुगेको छ ।

यसअघि नेपालले कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस्, युनाइटेड अरब इमिरेट्स (यूएई), इजरायल, बेलायत, रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । ओमनसँग मस्यौदामा सहमति भइसकेको छ ।

सम्बन्धित खबर