२०८२ पौष २५ शुक्रवार , ०९:२७:३३ बजे

Sajhamanch
'

बिजनेस र भिजिट भिसामा अमेरिका जान साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

बिहिवार, पौष २४, २०८२

काठमाडौं । अबदेखि नेपाली नागरिकले बिजनेस र भिजिट भिसामा अमेरिका जान १५ हजार डलर अर्थात साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार यो व्यवस्था आउँदो माघ ७ गतेदेखि लागू हुनेछ । यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन् ।

कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा यस्तो धरौटीबाट रकम काटिनेछ । यसका साथै अमेरिका जाने नेपालीले अब निश्चित विमानस्थलबाट मात्र प्रवेश पाउनेछन् ।

अहिले अमेरिकाले प्रवेश गर्न र बाहिरिन तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल तोकेको छ । बोस्टनको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टनको डुलिस इन्टरनेसनल एयरपोर्टबाट मात्र अब यस्ता भिसा प्राप्त गर्ने व्यक्ति अमेरिका प्रवेश गर्न पाउनेछन् । अरु विमानस्थलबाट यात्रा गर्ने व्यक्तिलाई अमेरिकाले नियन्त्रणमा लिन सक्नेछ ।

त्यस्तै, बिजनेस वा ट्राभल भिसामा गएका व्यक्तिले अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी बन्न गए धरौटी जफत हुनेछ । यो व्यवस्थाले अमेरिकामा पर्यटकका रुपमा जाने, आफन्त भेट्न जाने नेपालीहरु प्रभावित बन्नेछन् ।

सम्बन्धित खबर