
झापा । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले महिनौँको तयारी गरेको खुलेको छ । अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति मदुरोका गतिविधि महिनौँदेखि निगरानी गरेका बीबीसीले जनाएको छ ।
६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरहरूसम्मको निगरानी गर्न अमेरिकाले भेनेजुएला सरकारभित्रै स्रोत परिचालन गरेको थियो ।
महिनौँको सूक्ष्म योजना र अभ्यास पछि मदुरोलाई पक्राउ गर्न ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ नामक मिशन तयार भएको थियो । यसको तयारीका क्रममा अमेरिकी विशेष फौजका सैनिकहरूले कराकासमा रहेको मदुरो बस्ने सुरक्षित आवासजस्तै संरचना बनाएर त्यहाँ प्रवेश गर्ने अभ्याससमेत गरेका खबरमा उल्लेख छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चार दिनअघि नै आक्रमणको अनुमति दिए पनि मौसम खराब भएका कारण अमेरिकी समयानुसार शुक्रवार राति आदेश दिनुभएको थियो ।
शनिवार बिहान भेनेजुएलाको राजधानी काराकासमा ठूला विस्फोटका आवाज सुनिएका थिए । अमेरिकाले १५० वटाभन्दा धेरै विमान, बमवर्षक र लडाकु जेटहरू परिचालन गरेको थियो ।
आक्रमणअघि नै अमेरिकाले ‘विशेष प्रविधि’ प्रयोग गरेर काराकासको बिजुली काटिदिएको थियो । अमेरिकी सेनाले मदुरोको सुरक्षित आवास ‘सेफ हाउस’ का फलामे ढोका काट्न आधुनिक उपकरण र ‘ब्लो टर्च’ को प्रयोग गरेको थियो ।
यसैबीच अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ ।
यस्तै अमेरिकाले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । ट्रम्पले सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म भेनेजुएलाको शासन सत्ता अमेरिकाले चलाउने बताउनुभएको छ ।
मदुरोलाई अमेरिकाले पक्राउ गरेकोमा विश्वभरका नेताहरूले निन्दा र समर्थनको मिश्रित प्रतिक्रिया दिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोमाथि लागूऔषध तस्करी र ‘लागूऔषध आतङ्कवाद’ को आरोप लगाउनुभएको छ ।


