२०८२ मंसिर ३, मङ्गलवार , ०८:१७:५९ बजे

Sajhamanch
'

शेख हसिनालाई मृत्युदण्डको फैसला, कस्ता छन् अभियोग

मङ्गलवार, मंसिर ३, २०८२

बाङ्ग्लादेश । विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र ‘मानवताविरोधी अपराध’ गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।

बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमबार उनीसहित उनको मन्त्रिपरिषद्‌मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।

गतवर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसङ्घको एउटा अनुमानअनुसार उक्त आन्दोलनका क्रममा १ हजार ४०० जनाको मृत्यु भएको थियो।

अदालतले हसिनाको अनुपस्थितिमै फैसला सुनाएको हो। सत्ताच्युत भएपछि उनी भारतमा निर्वासित जीवन बिताइरहेकी छिन्। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।

मृत्युदण्ड हुने फैसला आएपछि उनले पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै त्यो ‘पूर्वाग्रही र राजनीतिक रूपबाट प्रेरित भएको’ टिप्पणी गरेकी छन्।

विज्ञप्तिमा उनले अन्तरिम सरकारमाथि आफ्नो पार्टी ‘अवामी लीगको राजनीतिक शक्ति’ मेटाउन खोजेको आरोप पनि लगाएकी छन्।

यसअघि गत साता बीबीसीलाई इमेलमार्फत् पठाएको जबाफमा हसिनाले आफ्नो अनुपस्थितिमा राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रित ‘क्याङ्गरू कोर्ट’मा सुनुवाइ भएको भन्दै त्यसलाई ‘नौटङ्की’को सङ्ज्ञा दिएकी थिइन्।

उनले बाङ्ग्लादेशको अन्तरिम सरकारलाई आफूविरुद्ध द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा मुद्दा चलाउन चुनौती दिइन्। ‘प्रमाणहरू राम्ररी केलाइने र जाँचिने एउटा उचित ट्राइब्यूनलमा म आफूमाथि आरोप लगाउने पक्षहरूको सामना गर्न डराउँदिन’ उनले भनिन्।

उनले आफू मानवाधिकार र विकासमा आफ्नो सरकारको ‘रेकर्ड’प्रति गौरवान्वित भएको तर्क पनि गरिन् ।

अदालतभित्रै हर्षोल्लास

फैसला हुँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए। मृत्युदण्डको फैसला सुनाइँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास गरेका थिए।

इजलासको अध्यक्षता गरेका न्यायाधीशले हसिनासहितका पदाधिकारीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसाको विवरण विस्तारपूर्वक पढेर सुनाएका थिए।

अदालतबाहिर एउटा सानो समूहले हसिनालाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेको थियो। अदालतको मर्यादा कायम राख्न आग्रह गरिएपछि भित्र भएका मानिसहरू केही बेरमै शान्त बनेका थिए।

फैसला आउनुअघि शेख हसिनाको परिवारसँग जोडिएको एउटा स्थानमा पुगेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले स्टन ग्रिनेड प्रहार गरेको थियो। धनमण्डीस्थित उक्त स्थानमा हसिनाका पिताको पुरानो निवास छ।

कस्ता अभियोग

झन्डै ४५० पृष्ठ लामो फैसलामा छवटा भाग छन्। न्यायाधीशहरूले भिडिओ सामग्री, प्रकाशित समाचार सामग्री, फोन वार्ताको अडिओ रेकर्ड, मृतकका परिवारसँग लिइएका अन्तर्वार्ताहरूलाई प्रमाण मानी तिनकै आधारमा फैसला लिएका हुन्।

उनीविरुद्ध हत्या, हत्या गर्ने प्रयास, यातना र प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएकोसहित अनेकौँ अभियोगहरू लगाइएको थियो।

यद्यपि राज्यले उनका लागि उपलब्ध गराएका वकिलले प्रदर्शनकारीहरूका हिंसक गतिविधिको प्रतिकार गर्न प्रहरीले गोली चलाएको दाबी सुनुवाइका क्रममा गरेका थिए।

फैसला सुनाइँदा अदालतमा चौधरी अबुल्लाह अल–मामुन मात्र उपस्थित थिए। उनले गत जुलाई महिनामा आफ्नो दोष स्वीकार गरिसकेका थिए। राज्यका तर्फबाट साक्षी बनेर उनले बयान दिएका थिए। असदुज्जमान खान कमल भूमिगत छन्।

सबैभन्दा लामो शासन

शेख हसिना बाङ्ग्लादेशका संस्थापक नेता बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको पार्टी अवामी लीग सन् २००९ देखि १५ वर्षभन्दा बढी समयदेखि निरन्तर सत्तामा थियो।

हसिना सन् १९७१ मा स्वतन्त्र भएको बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने व्यक्ति हुन्। उनी पहिलो पटक सन् १९९६ मा प्रधानमन्त्री बनेकी थिइन्। उनले २० वर्षभन्दा बढी समय बाङ्ग्लादेशको सत्ताको नेतृत्व गरेकी थिइन्।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भइन्। आफ्नो पाँचौँ कार्यकालको पहिलो वर्षमै सत्ताच्युत भएपछि हसिना ढाकाबाट भारत पलायन् भइन्। उनी अहिले पनि भारतमै छिन्। उनको अनुपस्थितिमै उनी र उनका सहयोगीहरू विरुद्ध मुद्दा चलेको थियो।

यसअघि अदालतले उनलाई अदालतको अवहेलनाको मुद्दामा छ महिनाको जेल सजाय सुनाइसकेको छ। उनीविरुद्ध भ्रष्टाचारका अभियोगमा छुट्टै मुद्दा पनि परेको छ। हसिनाको पार्टी अवामी लीगलाई निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ।

बीबीसीबाट